छिट्टै अर्को महाधिवेशन गरेर माओवादीलाई क्रान्तिकारी पार्टी बनाउँछौं: प्रचण्ड


  • admin
  •    
  • August 18, 2022

  • छिट्टै अर्को महाधिवेशन गरेर माओवादीलाई क्रान्तिकारी पार्टी बनाउँछौं: प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका छन्।

    पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको विचारलाई सफल बनाउनका निम्ति वाम आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताए।

    ‘चाहे हँसिया हतौडामा चुनावमा लड्ने निर्णय होस् वा चाहे पार्टी एकताका निम्ति संयोजन समिति बनाउने निर्णय होस् यसले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको छ,’ उनले भने।

    बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र राष्ट्रियसभा सदस्य वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियानले हँसिया हतौडाबाट चुनाव लड्दैछन्। यस्तै नेकपा एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले माओवादीसँग एकताका निम्ति संयोजन समिति बनाउने निर्णय गरेको छ।

    समाजवादको आधार निर्माण र कम्युनिष्ट आन्दोलनाई सबल बनाउने नयाँ आधार निर्माण हुन लागेको भन्दै प्रचण्डले त्यस प्रक्रियालाई सार्थक बनाउन अझै मिहिनेत गर्नुपर्ने बताए। ‘अहिले आएका सकरात्मक समाचारले मात्रै पुग्दैन। वामपन्थी शक्तिलाई एकतावद्ध गर्दै समाजवादको आधार निर्माणका निम्ति अझै मिहिनेत आवश्यक छ हाम्रो ध्यान त्यसमै छ,’ प्रचण्डले भने।

    थुप्रै विचलनकाबीच माओवादी केन्द्र क्रान्तिकारी पार्टी बन्ने सम्भावना अझै रहेको उनको भनाइ छ। त्यसका निम्ति छिट्टै अर्को महाधिवेशन गरिने उनले बताए। ‘विचार र अन्तर्राष्ट्रिय परिस्थितिको संश्लेषण गरेर अर्को महाधिवेशन छिट्टै गर्दै माओवादीलाई क्रान्तिकारी पार्टीको रुपमा विकास गर्न सकिन्छ,’ उनले भने।

    कम्युनिष्ट शक्तिको ध्रुवीकरण र एकीकरणको प्रक्रिया चुनावपछि नयाँ रुपमा सुरु हुने विश्वास प्रचण्डले लिएका छन्।

    ‘अहिले हामी पाँच दलीय गठबन्धनबाटै चुनावमा जाने छौँ। हाम्रो सम्पूर्ण ध्यान निर्वाचनमा रहेको छ। यो निर्वाचन पनि एउटा राजनीतिक संघर्ष हो। निर्वाचनपछि कम्युनिष्ट विचारधारालाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया नयाँ रुपमा अघि बढ्छ,’ उनले भने।

     

    ताजा समाचार