फोहोरको डंगुरमा दुर्गन्धित राजनीति


  • admin
  •    
  • August 18, 2022

  • काठमाडौँ — काठमाडौंमा थुप्रिएको फोहोरको डंगुरको अन्तर्य जान्न र बुझ्न कुनै राजनीतिक दलको चुनावी घोषणापत्र पढ्नुपर्दैन । न त कुनै नेताको तिलस्मी चुनावी भाषणका कुनै हरफहरु नै सम्झना गर्नुपर्छ । फोहोरोको यो थुप्रो हाम्रो राजनीतिको बचेखुचेको इज्जतभन्दा धेरैमाथि अग्लिइसकेको छ । जसका साक्षी संघीय राजधानीका जनताहरु हुन् ।

    फोहोरको दुर्गन्ध कोरोना संक्रमणबाट बच्न हामीले लगाइरहेको मास्कको पत्र-पत्र छिचोलेर नाकसम्मै ठोक्किन आइपुगेको छ । यो गन्धको आहत सबैभन्दा धेरै त्यो जनसमूहले भोगिरहेको छ जो, अँध्यारा र चिसा कोठामा चर्को भाडा तिरेर बस्ने डेरावाल हुन् । जो हरदिन भान्छाबाट उत्पादन हुने एक पोका फोहोर खाटमुनी वा ढोका पछाडी राख्ने ठाउँको पनि अभाव झेलिरहेको छ । तिनका नाकमा फोहोरको दुर्गन्ध सबैभन्दा बढी परेको छ, जो सडकका चार कुनातिर चलाख आँखा ओछ्याएर दुई मुठा साग र एकाध किलो टमाटर बेचेपछि हुने आम्दानीको भरमा परिवारको छाक टार्छ ।

    फोहोरले तिनलाई बढी सताईरहेको छ, जो दिनभर यहाँको साँघुरा, ओसिला गल्ली, चोक र चौबाटाहरुमा हरेक दिन फोहोरको डंगुर कसरी अग्लिैदछ भन्ने दृश्यको साक्षी बनेझै गरेर कुदिरहनुपर्छ । घरका ढोका ढोकामा खबर पुर्‍याउने हक, डोको वा खर्पनमा साग बोकेर बेचिहिड्ने श्रमजिवि, चक्रपथ बाहिरबाट स-साना क्यानमा दुधबोकेर घर घर पुर्‍यउने दुधवाला र अरु यस्तै कामकाजी ।

    एसियाली विकास बैंकले सन् २०१३ मा गरेको अध्ययनमा प्रतिपरिवार मासिक ४० हजार वा त्यसभन्दा माथि खर्च गर्ने घरधुरीले मासिक ५ हजार रुपैँया खर्च गर्ने परिवारले भन्दा दोब्बर फोहोर उर्त्सजन गर्छन् । यो अध्ययनले काठमाडौंमा प्रतिव्यक्ति प्रतिदिन फोहर उत्पादन चार सय ग्राम हुने आकलन गरेको थियो । यो तथ्यले काठमाडौंको फोहोर उत्पादनमा यहाँका धनीमानी, सम्पन्नहरुको हिस्सेदारी धेरै छ । तर विडम्बना उनीहरु फोहोरबाट छलिएर हिँड्न सक्छन् । बाक्लो माक्स लगाएर दुर्गन्धलाई नाकसम्मै आउनबाट जोगिन सक्छन् ।

    हरदिन फोहोरसँग साक्षात्कार गर्नेहरु भुइँमान्छेहरु काठमाडौंको फोहोर किन उठेन भनेर प्रश्न मात्रै गर्न सक्छन् । सवाल उठाउनेहरु त उनीहरुले मतदान गरेर संसद्मा पठाएका छन् । तिनीहरु यो बिषयमा कि त बोल्दैनन् बोलेपनि फोहोरभित्रै घुसिसकेको राजनीतिको पत्र केलाउँदैनन् ।

    फोहोरको दुर्गन्धमा पछिल्ला दिनहरुमा राजनीतिको गन्ध पनि मिसिएको छ । यसको हरक झन् ह्वास्सै आईरहेको छ । जसमा सत्तासिन दलका नेतादेखि दलको झण्डा बोकेर राजनीतिको बजारमा चौकादाउ हानिरहेकाहरु झन् वाचालरुपमा सतहमा देखिएका छन् । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मेयरको चुनाव जितेपछि यस्तो फोहोरको डुंगुरमा लौरो चलाएर दुर्गन्धलाई पर पर सम्म फैलाउन जे जस्ता राजनीतिक हर्कतहरु भईरहेका छन् त्यो फोहोरभन्दा पनि दुर्गन्धित छ ।

    फोहोरो नउठेपछि सुरु भएको छटपटी र आक्रोसको पहिलो श्रृंखलामै टिकटकमा खुबै, रसिला देखिने वडा नम्बर १६ का कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालले राजनीति खेल्न खोजेका थिए । उनले एकाध युट्युबरलाई बोलाएर आफ्नो वडाको फोहोर आँफैले उठाउँछु भन्दै भिडियो पनि खिचाएका थिए । तर उनको वडाबाट उठाईएको फोहोर कहाँ लगेर थन्क्याईने हो ? त्यसरी उनको वडाबाट उठाईएको फोहोरले सिंगो महानगरलाई सफा राख्न कति प्रतिशत योगदान गर्ने हो? यस्ता प्रश्न वडाध्यक्षलाई उनैले बोलाएका युट्युबरहरुले पनि सोध्नेवाला थिएनन् । फगत एउटा कलाविहिन नाटकको पटाक्षेपसँगै फोहोर बन्चरेडाँडा जान प्रक्रिया सुरु भयो । फगत स्वतन्त्र मेयरको सेखी झारी पो हाल्न सकिन्छ कि भन्ने भावमा प्रस्तुत भएका वडाध्यक्ष छिट्टै सेलाएजस्ता देखिए ।

    तर फोहोरको राजनीति साउने झरीसँगै फेरी बल्झियो । शनै:शनै काठमाडौंको चोक गल्ली र मूल बाटोमा फोहोरोको थुप्रो सहरका मन्दिर र सालिकहरुभन्दा पनि अग्लिन थाल्यो । त्यसबाट निस्कने हरक पर परसम्म फैलिन थाल्यो । त्यस्तो हरक गत साताको घनघोर वर्षापछि मूल सडकहरुका जमेको पानीको फोहोरका पोकाहरु तैरिन थालेपछि झनै बढ्यो । फोहोरको हरक संसद्भित्र पनि छिर्‍यो । त्यसपछि बोलेका थिए, एमाले अध्यक्ष केपी शर्मा ओलीले एक समय ‘लात्ताले पुक्क हिर्काएर भाग्ने बैगुनी केटो’को उपमा भिराएका एमाले नेता योगेश भट्टराई ।

    जनताको सार्वभौम थलो संसद्मा काठमाडौंको फोहोरबारे यहिँकै जनप्रतिनिधिले समेत मुख खोल्न दकस मानिरहेका बेला पूर्वी पहाडको ताप्लेजुङबाट चुनाव जितेर केन्द्रीय राजनीतिमा उदाईरहेका युवा नेता भट्टराईले फोहोरको विषयमा मुख खोल्नु आँफैमा राम्रो कुरा थियो । तर भट्टराईको मन्तव्य फोहोर किन थुप्रिरहेको छ, यसका पछाडी के कस्ता जटिलताहरु जेलिएका छन् र त्यसलाई सुल्झाउने काममा महानगर कसरी चुकिरहेको छ भन्ने विषयमा थिएनन् । बरु उनले त एमालेबाट निर्वाचित अघिल्ला मेयर विद्यासुन्दरको पालामा १४ दिनसम्म फोहोर नथुप्रिएको बरु यसपाला ७१ दिनसम्म फोहोर थुप्रिएको तुलना गरे । असफलताको यो तुलना आँफैमा फोहोरी राजनीतिक खेल थियो । त्यही भएर अक्सर चर्का, टर्रा र विवादास्पस्द अभिव्यक्तिहरुमा मुखर देखिँदै गरेका भट्टराईले लाजै पचाएर मेयर बालेन्द्र शाहलाई सम्बोधन गर्दै भने, आउनुस ठोस प्रस्ताव सहित । नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ, नेकपा एमाले पूर्ण क्षमताकासाथ सहयोग गर्न तयार छ । यदी तपाईं सरकारको भर पर्नुभयो भने तपाईं असफल हुने निश्चित छ ।

    सांसद भट्टराईले जेठयता ३३ दिन फोहर नउठेको तथ्यमाथि यसरी राजनीतिको मरमसला हालेर ७१ दिनको तथ्यांक प्रस्तुत गरे त्यो पनि फोहारमाथिको राजनीतिलाई मलजल गर्ने एउटा मिथ्यांक न थियो । सासंद भट्टराईले भाषणका बेला सायदै बिर्से होलान् काठमाडौंका ३२ वडामध्ये १२ वटा वडामा एमालेकै वडाध्यक्षहरु निर्वाचित छन् । एमालेबाटै निर्वाचित उपमेयर सुनिता डंगोल खुद महानगरको शक्तिमा विराजमान छिन् । यो सबै दृश्यहरुलाई पन्छाएर उनले विगतका मेयरको महिमाण्डन मात्रै गरेनन्, स्वतन्त्र मेयरलाई धुलिसात पारेर आफ्नो राजनीति अग्लिन्छ भन्ने फोहोरी खेल पनि खेले । बिर्सन हुँदैन, विद्यासुन्दर तिनै मेयर हुन्, जसले आफ्नो पाँच बर्षे कार्यकालमा काठमाडौंको फोहोरको स्थायी समाधन त खोजेनन नै, कोरोना महामारीमा दसौं हजार काठमाडौंका जनता भोक र शोकमा छटपटिइरहेका बेला, संक्रमितहरु आईसोलेसनको खोजीमा हिडिरहेका बेला आफू र आफ्नो परिवार संक्रमित भएपछि पाँचतारे सोल्टी होटलमा आईसोलेसनमा बिताएका थिए । बिर्सन नहुने यस्ता सयौं तथ्यहरु छन्, जसमा एमालेका विद्यासुन्दरले कायम गरेको किर्तीमानी आउने कुनैपनि मेयरले तोड्न सक्लान् ।

    योगेश भट्टराईले संसद्मा फोहोरबारे बोलेको भोलिपल्ट एमालेको एउटापंक्ति फोहोर थुप्रिएको विरोध जनाउन सडकमा देखिएको थियो । त्यसको अर्को दिन एमालेको युवासंघका केही दर्जन कार्यकर्ता हातमा सेतो पन्जा लगाएर बानेश्वरतिर देखिएका थिए । तिनीहरुले सडकमा थुप्रिएको फोहोर उठाएर ट्रकमा हाल्दै गरेको दृश्य पनि देखिन्थ्यो । भलै त्यसरी उठाईएको फोहोर उनीहरुले कहाँ लगेर तरा लगाए भन्ने चाहिँ सार्वजनिक भएन ।

    काठमाडौं महानगरपालिकाको चुनावी दौडमा पराजय भोगेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले पनि यो बीचमा सामाजिक सञ्जाल ट्विटरमै किन नहोस् फोहोरबारे बोलिन् । उनले कांग्रेसबाट निर्वाचित १९ वडाध्यक्षहरुको लस्कर महानगरपालिकामा छन् भन्ने बिर्से झैं गरेर हल्का राजनीति खेलेको पारामा लेखिन्- मलाई (जिम्मेवार नागरिक) जिम्मा देउ फोहोर व्यवस्थापन गर्ने जिम्मा महानगर र सरकार हामी जिम्मा लिन तयार छौं । म मात्रै राम्रो अरु सब बेकार मनस्थितीले यो भईरहको हो…।’ सायद फोहोरबारे यति लेखेर उनले राजनीतिको धर्म पूरा गरेकी होलिन् । हैन भने चाक्सिबारीबाट निस्केर सहरका गल्ली छिचोल्न फोहोरका डंगुरले त्यति सजिलो छैन र यसमा राजनीति मिसिएर हदैसम्मको दुर्गन्ध फैलिएको छ भनेर उनले नबुझ्नुपर्ने कुनै कारण छैन ।

    यसरी कांग्रेसका वडाध्यक्ष देखि एमालेका नेतासम्मले फोहोरबारे खेलेको राजनीति सतहमै देखियो ।यहीबीचमा फोहोर फाल्न गएका ट्रकहरु बारम्बार अवरोध गरिएको दृश्य प्रकट भयो । अनि कांग्रेस, माओवादी र संघीय समाजवादीका स्थानीय नेताहरुले फोहोर फाल्न नदिने भन्दै सार्वजनिक गरेको विज्ञप्ति पनि सार्वजनिक भयो ।

    सबैलाई थाहा भएकै कुरा हो, २०४९ यताको तीस वर्षमा भएका चार वटा स्थानीय तह चुनावमार्फत् एमालेले १० बर्ष, कांग्रेसले ५ बर्ष र २०५९ असोज पछि सर्वदलीय संयन्त्रका नाममा यिनै दलहरुले काठमाडौं महानगरको सत्ता भोग गरे । देश बनाउन खटिएका तमाम शीर्ष दलले हाँकेको महानगरमा यतिका वर्षमा फोहर व्यवस्थापनको के संयन्त्र निर्माण भएको रहेछ र त्यसमा टेकेर स्वतन्त्र मेयरले के काम गर्न सकेनन् भनेर न त कांग्रेस न त एमाले नै समीक्षा गर्न तयार देखिन्छ ।

    फोहोरका रास हर दिन अग्लिईरहेका यी दिनहरुमा काठमाडौंको राजनीतिमा के-के विषयमा चर्चा भए, भूराजनीतिका के-कस्ता पेचिला विषयमा दाउपेचहरु चले ती सबै सतहमा प्रकट छैनन् । सार्वजनिक भएका दृश्यमा फोहोरका थुप्रा, त्यसबाट बगिरहेको लिचड र पदयात्रीहरु नाक थुनेर हतार हतार पाईला अघि बढाईरहेको दृश्य मात्रै देखिन्छ । फोहोरको थुप्रा हुँदै हुँइकिइरहेका साईरनवाला गाडीभित्र बस्नेहरुको नाकमा फोहोरको गन्ध हृवास्सै आउँछ कि आउँदैन भन्नेबारे कुनै नेताले अहिलेसम्म मुख खोलिसकेका पनि छैनन् । अनि फोहोराका थुप्रामा ठोक्किएर आउने साईरनको ध्वनि कति डेसिबलको हुन्छ भन्ने हिसाब पनि कसैले राखिसकेको देखिन्न ।

    तन्नेरी जोसका साथ मेयरको कुर्सीमा आसिन बालेन्द्र शाहले योबीचमा फोहोरको थान्को लगाउन आफूले गरेका प्रयत्नहरु किन असफल भईरहेका छन् भन्नेबारे लुघ विवरणहरु फेसबुकमार्फत् सार्वजनिक गरि नै रहेका छन् । तर त्यस्तो सार्वजनिकीकरणमा उनले फोहोरमा भईरहेको राजनीति किन र कसरी पेचिलो बनिरहेको छ भन्ने पुरै छनक भने दिईसकेका छैनन् । सायद उनी उचित समयको पर्खाईमा हुँदा हुन् वा राजनीतिको यो विचित्र खेलबारे आशिंक मात्रै जानकार । अक्सर मिडियासँग आमने सामने गर्न रुची नराख्ने बालेन्द्रले काठमाडौंको फोहोर उठाउने निजी कम्पनीहरु कसका हुन ? ती कम्पनीको नाभी राजनीतिमा गएर कसरी जोडिएको छ र यो फोहोरको थुप्रामा ती कम्पनी कति जिम्मेवार हुन् भन्नेबारे बोलिसकेको देखिन्न । सायद उनले कुनै दिन यो बिषयमा बोल्लान् नै । तर त्यो दिन ढिला भईसकेको हुनेछ यसै भन्न सकिन्न ।

    दैनिक करिब ५ सय ४५ टन फोहोर उत्पादन गर्ने काठमाडौं महानगरपालिकाकाले मात्रै उत्पादन गर्छ । महानगरका ४ सय ४३ कर्मचारी र वडाका १९ कर्मचारी फोहोरमैला व्यवस्थापनमा खटिएका छन् । तर यतिका जनशक्ती, फोहोर उठाउने ६८ गाडी मेयरले परिचालन गर्न सकेका छैनन् ।

    तर यति भन्दैमा महानगरको फोहोरको थुप्रोबाट आएको सबै दुर्गन्ध मेयरकै नाकले मात्रै सहनुपर्छ भन्ने पनि त छैन । दुरुह प्रशासिनक संयन्त्रहरुको जालोमा अल्झिएका बालेन्द्रले आफ्नो समीक्षा त समयक्रममा गर्लान् वा गर्नेछन् नै तर त्यो भन्दा पहिले फोहोरको थुप्रोमा छिरेको राजनीतिक दुर्गन्धको हरकले सत्ताको खाईखेलो गरेका दललाई त्यसै सुख नदिने देखिन्छ । त्यसको छनक सामाजिक सञ्जालका भित्तामा फोहोर दलका कार्यलयमा र नेताका घर अगाडी लगेर थुप्राउनुपर्छ भन्ने भाव सहितका नाराहरु शेयर भईरहेबाट पनि देख्न सकिन्छ ।

    नजिकिदै गरेको संसदीय चुनावमा फोहोरमाथि राजनीति गरेर को-को अग्लिए र क-कसका नाकमा फोहोर लाग्यो भन्ने कुरा मतपेटिकामा प्रकट होला नै । तर आफ्नो हातबाट काठमाडौंको राजनीतिको तार खुस्किँदै गएको देखेर फोहोरमा दुर्गन्धित राजनीति मिसिन थाल्यो भने फोहोर झनै गन्हाउनेछ र त्यो समयक्रममा पार्टी कार्यालयमा वा नेताका घर दैलामा नआईपुग्ला भन्न सकिन्न ।

    ताजा समाचार