बक्यौता तिर्न नसकेपछि आइओसीलाई भुक्तानी गर्नुपर्ने रकममा समेत व्याज तिर्दै आयल निगम, ७.१ प्रतिशत व्याज चार्ज गर्छ आइओसी


  • tamangnews admin
  •    
  • August 18, 2022

  • नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग प्रशोधित पेट्रोलियम पदार्थका खरिद गर्दा हरेक अंग्रेजी महिनाको ८ तारिख र २१ तारिखमा गरी दुई पटक भुक्तानी दिने सम्झौता गरेको थियो ।अघिल्लो महिनाको बक्यौतालाई दुई किस्तामा भुक्तानी गर्ने सम्झौता गरेको नेपाल आयल निगमले पछिल्लो समय सम्झौता बमोजिम पेट्रोल खरिदको भुक्तानी गर्न नसकेपछि आइओसीले बाँकी बक्यौतामा व्याज लगाउन थालेको हो ।

    सम्झौता बमोजिम भुक्तानी हुनुपर्ने रकम भुक्तानी नगरी पेट्रोलियम पदार्थको बिक्रीबाट जति रकम उठ्यो, त्यति मात्रै रकम तोकिएको मितिमा निगमले भुक्तानी गर्ने गरेको छ । निगमले तिरेको रकम घटाएर त्यो मितिमा तिर्नुपर्ने बाँकी रकममा भने आइओसीले ७.१ प्रतिशतका दरले व्याज लगाउन थालेको नेपाल आयल निगमका उपकार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । उनका अनुसार आजको मितिमा निगमले आइओसीलाई २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

    पेट्रोलियम पदार्थ खरिद बापतकाे रकम समयमा नै भुक्तानी गर्न नसकेर बक्यौता रकम बढ्दै गएपछि मन्त्रिपरिषद्को असार ३१ गतेको निर्णय अनुसार निगमनलाई ७ अर्ब रुपैयाँ ऋण उपलब्ध गराईको थियो । उक्त ऋण ५ प्रतिशत व्याजसहित आगामी ५ वर्षमा चुक्ता गर्नुपर्ने शर्त राखिएको उपकार्यकारी निर्देशक शाहले बताए । त्यसैगरी, निगमको केन्द्रीय कार्यालय रहेको टेकुको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट निगमलाई सरकारले ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकले निगमको केन्द्रीय कार्यालय रहेको जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ३ महिनाको लागि ऋण दिएको छ । बैंकले निगमलाई १०.६१ प्रतिशत व्याज दरमा ऋण दिएको हो । सरकारको ७ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब र आइओसीलाई भुक्तानी गर्नुपर्ने २३ अर्ब गरेर हालको मितिसम्म निगमनको २३ अर्ब दायित्व रहेको छ । उक्त दायित्वबापत् निगमले झन्डै मासिक १४ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

    गत वर्ष १८ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य
    आव २०७८।७९ मा निगमले १८ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आवको शुरुमा १२८ रुपैयाँ प्रति लिटर रहेको पेट्रोल वर्षको अन्तिममा १८१ रुपैयाँ पुगेको छ । पेट्रोलमा १ वर्षमा ४१.४ प्रतिशत मूल्य वृद्धि भएको छ । डिजेल र मट्टितेल भने आर्थिक वर्षको शुरुमा १११ रुपैयाँ प्रति लिटर रहेकोमा वर्षको अन्तिममा बढेर १७२ रुपैयाँसम्म पुगेको छ । यी द्ई पेट्रोलियम पदार्थमा ५४.९५ प्रतिशतले मूल्य वृद्धि भएको छ । त्यसैगरी, वर्षको शुरुमा १४२५ रुपैयाँ प्रति सिलिन्डर रहेको एलपीजी ग्याँस वर्षको अन्तमा २६.३१ प्रतिशतले बढेर १८ सय रुपैयाँ पुगेको छ । एक वर्षको दौरान सबैभन्दा बढी मूल्य वृद्धि भने हवाई इन्धनमा भएको छ । आन्तरिक खपतको हवाई इन्धन ८४ रुपैयाँबाट १२६.१९ प्रतिशतले बढेर १९० रुपैयाँ पुगेकाे छ भने अन्तर्राष्ट्रिय रुपमा खपत हुने हवाई इन्धनमा ७५४ रुपैयाँ रहेकोमा ११८.१७ प्रतिशतले बढेर १६४५ रुपैयाँ पुगेको छ ।

    तेस्रोपटक मूल्य घटेर आउँदा पनि निगमले खुद्रा मूल्य घटाएन
    पछिल्लो केही हप्तादेखि अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दो क्रममा रहेको छ । भारतले अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपाललाई प्रशोधित पेट्रोलियम पदार्थको मूल्य नेपाललाई पठाउने गर्छ । भारतमा क्रुड आयल रिफाइन गर्ने धेरै नै कम्पनीहरु रहेकाले विश्व बजारमा पेट्रोलको मूल्य उच्च विन्दुमा हुँदा पनि रसियालगायतका देशबाट धेरै सस्तोमा क्रुड आयल खरिद गरेर प्रशोधित पेट्रोलियम छिमेकी देशहरुलाई बेचेको छ । युद्धकै समयमा सस्तोमा क्रुड आयल उठाएर भारतले मनग्य नाफा आर्जन गरेको छ । भारतसँग प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौता मात्रै गरेको हुँदा त्यस्तो मुनाफा नेपालले पाएन । अहिले कच्चा तेलको मूल्य १ सय डलरभन्दा तल झरेको अवस्था छ । सोही बमोजिम प्रशोधित तेलको मूल्य पनि विगत डेढ महिनादेखि घटाएर पठाइरहेको छ । भारतबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने देशभित्र पुरानै मूल्यमा पेट्रोलियम पदार्थ बेचिरहेको छ । पछिल्लो मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा ४.७४ रुपैयाँ नाफा, डिजेलमा ४‍.५० रुपैयाँ घाटा र एलपी ग्याँसमा प्रति सिलिन्डर ४९९.५७ रुपैयाँ घाटा छ भने हवाई इन्धन र मट्टितेलमा भने नाफा छ । समग्रमा भन्दा अझै पनि निगमलाई मासिक ६२ करोड ५८ लाख रुपैयाँ घाटा रहेको निगमनका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । विगतमा अन्तर्राष्ट्रिय बढेको अनुपातमा मूल्य वृद्धि नगरिएकाले अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि घटाउन असमर्थ रहेको उनले बताए । निगमको दायित्व चुक्ता हुँदै गएपछि विस्तारै निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर बेच्न सकिने प्रक्षेपण गरे ।