जन्मगाउँ पुगेर डाक्टर रुइतले गरे ७० जनाको आँखाको शल्यक्रिया


  • admin
  •    
  • March 8, 2023

  • बरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइत नेतृत्वको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले आफ्नो जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७० जनाको आँखा शल्यक्रिया गरेको छ।

    शनिबार ४८ र आइतबार २२ जना गरी कूल ७० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मुक्ति(राजन)लावुङ लिम्बूले जानकारी दिए। फागुन ८ गतेदेखि फक्ताङलुङ गाउँपालिकाका विभिन्न दुर्गम बस्तीमा पुगेर आँखा प्राविधिकहरुले २ हजार जनाको आँखाको जाँच गरी मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको छनौट गरेको थियो। छनौट भएका बिरामीको गाउँपालिकाको केन्द्र तापेथोकमा आएर रुइत नेतृत्वको चिकित्सक तथा प्राविधिकको टोलीले शनिवार र आइतबार आँखाको शल्यक्रिया गरेको थियो।

    तिलगंगा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको यस्तो शिविरमा शल्यकृया गर्नुपर्ने प्रकृतिका बिरामीलाई शल्यक्रिया स्थल सम्म ल्याउने यातायात सुबिधा देखि बस्ने र खाने व्यवस्था समेत गाउँपालिका आफैंले गरेको गाउँपालिकाले जनाएको छ। अन्य उपचार प्रवन्ध तिलगंगा आँखा प्रतिष्ठानले गरेको थियो।

    दुर्गम र पछि परेको आफ्नो जन्मक्षेत्रमा आएर आफू नेतृत्वको टोलीले स्थानीयलाई सेवा दिन पाउँदा वर्ग महशुस गरेको डाक्टर रुइतले बताए। उनको जन्म गाउँ फक्तालुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोला हो। शिविर सकेपछि उनी आफ्नो जन्म गाउँ ओलाङचुङगोलातर्फ लागेका छन्।

    फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङ शेर्पाले जन्म गाउँमा पुगेर रुइतले स्थानीय बासिन्दासंग साक्षात्कार गर्ने कार्यक्रम तय भएको जानकारी दिए। उनी सोमबार ओलाङचुङगोला पुग्ने रुइतका सञ्चार सम्पर्क अधिकृत पंकज थापाले जानकारी दिए। डाक्टर रुइत तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक समेत हुन्।

    विश्वले ‘दृश्यका देवता’भनेर चिन्ने डाक्टर रुइतले नेपाल सहित विश्वका विभिन्न देशमा पुगेर आफ्नै हातले १ लाख ८० हजार भन्दा बढी आँखा रोगीको शल्यकृया तथा उपचार गरेको अनुभव छ।

    ताजा समाचार