कृषिमा आधारित उद्योगको विकासबाट नै देशको आर्थिक स्थिति बलियो बन्छः अध्यक्ष दाहाल


  • admin
  •    
  • September 11, 2022

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन्।

    आईतबार काठमाडौंमा आयोजित ‘नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरूदण्ड कृषि नै भएको बताए।

    ‘देशको लागि, समाजको लागि र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो’, उनले भने, ‘कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगको विकास गर्ने कुरा नेपाल र नेपालीको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ।’

    उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगको विकास गर्नुपर्ने बताए। उनले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए।

    ‘५०/६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौं। हामी सबैचिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ। अहिले उल्टो भयो किन यस्तो भइराखेको छ हाम्रो चिन्ताको विषय भयो’, उनले भने, ‘हामी धेरै पढ्यौँ, लेख्यौँ। धेरै जान्ने सुन्ने पनि भयौँ । तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडि होइन पछाडि गएको देखिनु ठूलो चुनौती हो।’

    अध्यक्ष दाहालले कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए।

    ‘हामीले हामीसँग भएको जलको सहि सदुपयोग गर्ने, पर्यटनको विकासको निम्ति हामीले आवश्यक सबै पूर्वाधारको विकास गर्ने कुरा वा जडिबुटी र खनिजको विकास गर्ने कुरा त छँदैछ। तर रणनीतिक रुपमा, दिर्घकालिन नेपाल र नेपालीको हीत हेर्दा कृषिमा नै क्रान्ति ल्याउने कुरा, कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नै हाम्रो लागि दिगो छ’, उनले भने, ‘हाम्रो निम्ति आवश्यक छ। म तपाई सबै साथीहरुको यतापट्टि विशेष रूपले ध्यानाकर्षित गर्न चाहन्छु। र तपाईहरु यसमा चिन्तन, मनन गर्नुहोस्।’

    उहाँले युवाहरु उद्यमशिल हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए। अध्यक्ष दाहालले धन, सम्पती कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरुको आत्मसम्मान हुनेगरी सम्पती आर्जन गर्न युवाहरुलाई आग्रह गरे।

    उनले लक्ष्यप्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिए। अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताए।

    ताजा समाचार