यस वर्षको गाईजात्रा आजदेखि सम्पन्न


  • admin
  •    
  • August 19, 2022

  •  गत साउन २७ गतेदेखि भक्तपुरमा शुरु भएको गाईजात्रा पर्व शुक्रबारदेखि पूरा गरिएको छ । मूल नाइके नरेन्द्रप्रसाद जोशीले जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरु भएको गाईजात्रा पर्व आज पुनः तलेजुको पूजा गरेपछि सम्पन्न भएको जानकारी दिनुभयो ।

    जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने गरिए पनि अन्य दिनमा भने घिनताङ घिसीनाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइएको थियो ।

    जात्रा समापनका क्रममा आज घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो भने भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौं महिलाले टोलटोल घुमेर बत्ती जगाएका थिए ।

    श्रीकृष्ण जन्माष्टमी रहेकाले नारायणको पूजा गरी नारायणका लागि आज भक्तपुरका बालबालिका एवम् युवाले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेका थिए ।

    आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत्  गाईजात्रा सम्पन्न भएको मानिने मूल नाइके जोशीले बताउनुभयो ।