नेपाल तामाङ घेदुङको ६७ औं स्थापना दिवसको शुभकामना


  • admin
  •    
  • February 5, 2023

  • आज तामाङ समुदायको एकमात्र साझा, राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको स्थापना भएको दिन हो । आजभन्दा ६७ वर्षअघि सोनाम ल्होछारपछिको पूर्णिमाको दिन पारेर वि.सं. २०१३ सालमा हाम्रा १३ जना अग्रजहरूले तामाङ समाजको नामबाट यो संस्थालाई जन्माउनु भयो । घेदुङ आदिवासी जनजातिहरूको साझा छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको ८ संस्थापक संस्थाहरूमध्ये एक हो । घेदुङ नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य संस्था पनि हो ।

    नेपाल तामाङ घेदुङको हाल सातवटा प्रदेशमा प्रदेश कार्यसमितिहरू, सातवटा भातृसंगठनहरू (महिला, विद्यार्थी, युवा, संस्कृति, लामा, ताम्बा, बोन्बो), सातवटा विभागहरू, ४७ जिल्लामा जिल्ला समन्वय समितिहरू, दुई दर्जन बढी मुलुकमा आबद्ध तथा शाखा संस्थाहरू र ३०० बढी स्थानीय समितिहरू रहेका छन् । यो तामाङ समाजको हित चाहने एक लाभ निरपेक्ष राष्ट्रिय स्तरको समुदायमा आधारित (Community Based Organizations) सामाजिक संगठन हो । यसले एनजिओले जस्तो विकासे काममा मात्र ध्यान नदिई नेपालका समस्त तमाङ समुदायको सामाजिक, सांस्कृतिक, भाषिक, राजनीतिक तथा शैक्षिक आन्दोलनको समेत प्रतिनिधित्व गर्दछ । अहिले तामाङ समाजले ग्रहण गरेका र कार्यान्वयनमा ल्याएका तामाङ भेषभूषा, तामाङ भाषा, तामयिग लिपि, जन्मदेखि मृत्युसम्मका संस्कार एवम् सोनाम ल्होछार परम्परा प्रवद्र्धन जस्ता विषयहरू नेपाल तामाङ घेदुङकै पहलमा तामाङ अन्तर्राष्ट्रिय सम्मेलनद्वारा पारित तथा अनुमोदित विषयहरू हुन् ।

    नेपाल तामाङ घेदुङले विशेषगरी नयाँ पुस्तामा आफ्नो धर्म, इतिहास र मूल्य मान्यता साथै शिक्षा र चेतनाको प्रशारण गर्न तथा तामाङ सौन्दर्य बोध गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समय र परिस्थितिअनुसार वैज्ञानिक, प्राविधिक विकास र त्यसद्वारा उत्पन्न ज्ञान अनुरूप तामाङ संस्कृतिलाई वैज्ञानिकीकरण गर्ने तथा त्यसलाई तामाङ समाज र जीवनोपयोगी बनाउँदै पूर्खाले विकास गरेको पहिचानलाई कालान्तरसम्म जोगाई राख्न नेपाल तामाङ घेदुङको महत्वपूर्ण योगदान रहेको छ ।

    पूर्खाहरूले युगौदेखि विकास गरेको र चलाएको परम्परागत संस्कृति र मौलिक जीवनपद्दती नै तामाङ सभ्यता हो । आज यही संस्थाको संस्थागत पहलकदमीमा विशिष्ट तामाङ विश्व दृष्टिकोण, आस्था, परम्परा, विश्वास र संस्कार संसारभर फैलिन पुगेका हुन् । ताम्बावाद, बोन्वोवाद र लामावादको क्रियात्मक आलोक र सौन्दर्यमा हुर्केको तामाङ जातिको राष्ट्रिय आदर्श, मूल्य–मान्यता, धार्मिक विश्वास र संस्कार–संस्कृतिलाई जोगाउनु र त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु घेदुङ जस्तो संस्थाको महत्वपूर्ण भूमिका रहेको छ ।

    राम्रोसँग नताछेको ढुंगाको हतियारबाट सुरु भएको मानव सभ्यताले फलामको टुँडोवाल हलोको आविष्कार गर्दै आज नानो टेक्नोलोजीसम्मको जतिपनि विकासमा फड्को मारेको हामी देख्छौ, ती सबै प्रश्न र अन्तर्विरोधको फलस्वरूप प्राप्त भएका हुन् । स्वभाविक रूपले त्यसखालका अन्तर्विरोध संस्थागत जीवनमा पनि देखा पर्छन् र घेदुङमाथि प्रश्न उठ्नु अस्वभाविक होइन । तथापी संस्था आफैमा खराब हुँदैनन् । सामुदायिक रूपले हेर्दा हाम्रा अगाडि सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, राजनीतिका बगे्रल्ती चुनौतीका पहाडहरू उभिएका छन् । जुन पहाड छिचोल्न एउटा व्यक्तिभन्दा सामूहिक एकता र बल मात्रै कामयावी हुन्छ । त्यो बल र एकता घेदुङबाहेक अन्य माध्यमबाट प्राप्त गर्न सकिन्न । तसर्थ, यसमा देखा परेका कमजोरी, गल्तीलाई सच्याउँदै अघि बढ्नु हाम्रो वर्तमान दायित्व र कर्तव्य पनि हो । नेपाल तामाङ घेदुङको ६७ औं स्थापना दिवसको अवसरमा संसारभर रहेका तामाङ समुदायलाई घेदुङको झण्डामुनि गोलबन्द गर्दै अघि बढ्न प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।