‘मासिन्या’ फागुन १२ सम्म मञ्चन हुने


  • admin
  •    
  • February 13, 2024

  • नाटक ‘मासिन्या’को मञ्चन १० दिन थप गरी फागुन १२ सम्म मञ्चन हुने भएको छ ।

    दर्शकको बढ्दो मागलाई मध्यनजर गर्दै १० दिनका लागि नाटकको मञ्चन थपिएको ताम्सालिङ सङ्घर्ष समिति सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए ।

    माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन २ गतेदेखि १२ गतेसम्म सोमवार बाहेक मञ्चन हुनेछ ।
    माघ ११ गतेदेखि मञ्चन सुरु गरिएको नाटकलाई ४ हजार भन्दा दर्शकहरू हेरिसकेको मण्डला बक्स अफिसले जनाएको छ ।

    नाटक हेर्नका लागि उपत्यका बाहेक मकवानपुर, दाङ, पोखरा, धरान, विराटनगर, दमक लगायतका स्थानहरूबाट दर्शकहरू आएका छन् । नाटक हेर्न राजनीतिकर्मीदेखि सुकुम्वासी बस्तीसम्मका दर्शकहरू सहभागी भएकाले समुदाय विशेष सिर्जनामा थप हौसला मिलेको नाटकका लेखक राजु स्याङ्तानले बताए ।

    ‘नाटक हेर्ने दर्शकमा तामाङ मात्र नभएर गैर तामाङहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ’, ‘उनले भने,‘यसले तामाङ समुदायलाई हेर्ने परम्परागत नजरिया नै परिवर्तन भएको छ । यो हामीजस्ता स्रष्टाका लागि सुखद कुरा हो ।’

    ’नाटक लेखनमा स्याङ्तानसहित लक्ष्मी रुम्बा र राबत(रामबहादुर तामाङ) छन् । समुदाय विशेष कथा नाटकमा लिएर आएको समूहको यो पहिलो प्रयास भएकोले दर्शकको अभाव पर्ला कि भन्ने अनुमान थियो । अत्यधिक दर्शकको मायाले नै अझै सिर्जनामा जिम्मेवारी थपिएको लेखक राबतले सुनाए ।

    बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशन रहेको नाटकमा रुपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपाल लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

    ताजा समाचार