नेपालमा पूर्ण फाइभजी सुरु गर्ने कि अहिलेकै फोरजीलाई अपग्रेड गरेर काम चलाउने ?


  • admin
  •    
  • March 8, 2023

  • अहिले विश्वभर आठ अर्ब ४० करोड कूल मोबाइल प्रयोगकर्ता रहेकोमा अनुमानित एक अर्ब ग्राहकले फाइभजी सेवा प्रयोग गरिरहेको बताइन्छ । यो सङ्ख्या बढ्दै गएर अबको छ वर्षपछि पाँच अर्ब पुग्ने अनुमान गरिएको छ ।

    हाम्रो जस्तो देशमा भने अबको केही वर्ष फोरजीकै प्रयोग बढाउनुपर्ने हुन्छ । त्यसपछि विस्तारै त्यसलाई फाइभजीले प्रतिस्थापन गर्दै जाने देखिन्छ । फोरजीको तुलनामा फाइभजीमा प्रयोगकर्ताको सङ्ख्या द्रुत गतिमा बढ्ने अनुमान लगाइएको छ ।

    यसको चौथो वर्ष पूरा गर्दैगर्दा एक अर्ब ग्राहक भएको फाइभजीमा अबको एक वर्षमा प्रयोगकर्ताको सङ्ख्या दुई अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै छैटौं वर्षमा तीन अर्ब हुँदै प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाने देखिन्छ ।

    छिमेकी देश भारमा मात्रै अहिलेसम्म तीन करोड प्रयोगकर्ताले फाइभजीमा पहुँच पाएका छन् । हाम्रो नेपालमा फाइभजी सेवा सुरु भइनसकेको भए पनि फोरजीको सन्दर्भ चर्चा गर्नु सान्दर्भिक होला ।

    नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार गत कात्तिकसम्म नेपालमा कूल फोरजी प्रयोगकर्ता जनसङ्ख्याको करिब ६३ प्रतिशत रहको देखिन्छ । उत्तर पूर्वी एसियामा चीन, जापान र कोरियाको अवस्था हेर्ने हो भने जापान फाइभजीमा अलिकति पछाडि छ ।

    चीन र कोरिया भने निकै नै अगाडि छन् । यी देशहरूमा अहिले ३४ प्रतिशत जनसङ्ख्याले फाइभजी प्रयोग गर्न थालेको देखिन्छ । सन् २०२८ सम्म यो दर बढेर ७४ प्रतिशत पुग्ने अनुमान छ ।

    नेपाल, भारत र भुटानको हकमा समग्रममा अबको छ वर्षपछि फाइभजी प्रयोग गर्नेको सङ्ख्या ५३ प्रतिशत पुग्ने प्रक्षेपण छ । त्यतिखेर फोरजीको प्रयोग घटेर ४४ प्रतिशतमा सीमित हुनेछ ।

    फाइभजीका मुख्य विशेषता

    फाइभजी एकदमै नयाँ प्रविधि हो । यो नेटवर्क प्रविधि सफ्टवेयरले नियन्त्रण गर्ने गरिन्छ । हामी क्लाउड कम्प्युटिङ भन्छौँ, क्लाउडमा नै नेटवर्क फङ्सनहरू राखिएका हुन्छन् र सफ्टवेयरमार्फत हामी नेटवर्कको स्लाइस बनाउन सक्छौँ ।

    एउटै नेटवर्कमा विभिन्न एप्लिकेसनहरू चल्न सक्छन् । जस्तै धेरै ब्यान्डविथ चाहिने ईएमबीबी (इन्ह्यान्स मोबाइल ब्रोडब्यान्ड), अल्ट्रा रिलायबिलिटी चाहिने अटोमेटेड ड्राइभिङ, स्मार्ट मिटर, सेन्सर तथा वातावरणीय मापनका क्षेत्रहरू जहाँ धेरै ओटा डिभाइस आवश्यक पर्छ, सार्वजनिक सुरक्षामा प्रयोग गरिने उपकरणहरू यी सबैलाई एउटै हार्डवेयरलाई सफ्टवेयर विभिन्न खण्ड बनाएर सेवा दिन सक्छौँ ।

    तिनै खण्डहरूलाई नै नेटवर्क स्लाइस भन्ने गरिन्छ । यसको अर्थ रिसोर्स अर्थात स्रोतसाधन शेयर गर्न सकिन्छ । फाइभजीमा सफ्टवेयरले रिकन्फिगर गर्न सक्ने भएकाले सिस्टम अपडेट गर्न पनि सजिलो हुन्छ ।

    यसलाई हामी क्लाउड नेटिभ सर्भिस भन्छौँ, अथवा सर्भिस बेस्ड आर्किटेक्चर भन्छौँ । त्यो आर्किटेक्चरलाई आफूलाई चाहिएको सर्भिस अनुसार सफ्टवेयर मार्फत परिवर्तन गर्न सकिन्छ । यस किसिमको लचकता फाइभजी प्रविधिमा हुन्छ ।

    नेटवर्क अटोमेसन

    सफ्टवेयरले नेटवर्क बनाउन सकिने भएकाले यसको व्यवस्थापन पनि जटिल हुन्छ । किन भने सफ्टवेयरले नयाँ कन्फिगरेसन गरिन्छ । फेरि उत्तिकै रिलायबिलिटी (विश्वसनीय) पनि चाहिएको छ ।

    कहीँ गल्ती कमजोरी पनि हुनु भएन । त्यसैले सेवाको गुणस्तर पनि कायम हुनु पर्‍यो । अल्ट्रा रिलायबल तथा लो लेटेन्सी सेवा पनि उपलब्ध गराउनु पर्ने हुन्छ । त्यसैले यसको व्यवस्थापन अलिक चुनौतिपूर्ण नै हुन्छ ।

    त्यसका लागि एआई तथा मसिन लर्निङ टुलहरू अपरिहार्य छन् भनेर अनुसन्धानहरू भइरहेका छन् र अहिले स्ट्यान्डर्ड पनि बनाइँदैछ । आईटीयूमा नेटवर्क अटोमेसन ग्रुप छ, जहाँ नेटवर्कलाई कसरी अटोमेट गर्न सकिन्छ भन्ने बारेमा विभिन्न पक्षका बारेमा छलफलहरू भइरहेका छन् ।

    अहिले हामी फोरजीमा छौँ । यसको आईएमटीको उन्नत प्रविधिमा पिक डेटा रेट एक जीबीपीएस र प्रयोगकर्ताले अनुभव गर्ने डेटा रेट १० एमबीपीएस हुन्छ ।

    जब कि फाइभजीमा अधिकतम डेटा स्पिड २० जीबीपीएससम्म हुन्छ । त्यस्तै फोरजी प्रविधिमा अधिकतम लेटेन्सी १० मिलिसेकेन्ड रहेकोमा फाइभजीमा त्यसभन्दा १० गुणा बढी अर्थात एक मिलिसेकेन्डमा झर्नेछ ।

    ५०० किमि प्रति घण्टाको तीव्र गतिमा गुडिरहेका रेलहरूमा पनि फाइभजी नेटवर्कले राम्रोसँग काम गर्न सक्छ । त्यस्तै एक किमि क्षेत्रफलमा हामी १० लाख ओटा डिभाइसहरू फाइभजीमा जोड्न सक्छौँ । यस हिसाबले यो फाइभजी भनेको एकदमै क्षमतावान नेटवर्क प्रविधि हो ।

     

    कहाँ कहाँ प्रयोग हुनसक्छ फाइभजी ?

    अहिलेको फोरजी प्रविधि खासगरी प्रयोगकर्ताका मोबाइल उपकरण जोड्ने कार्यमा मात्रै प्रयोग भइरहेको छ । फाइभजीमा भने स्मार्टफोनका अतिरिक्त अरु पनि डिभाइसहरू जोड्न सकिनेछ ।

    जस्तै स्मार्ट सीटी बनाउन प्रयोग गरिने उपकरणहरू, उद्योग अटोमेसन गर्ने डिभाइसहरू, रिमोट सर्जरी जस्ता मिसन क्रिटिकल एप्लिकेसन सपोर्ट गर्नका लागि फाइभजीको डिजाइन गरिएको छ । यसलाई मोटामोटी रुपमा भन्नुपर्दा इन्ह्यान्स मोबाइल ब्रोडब्यान्ड सर्भिस (ईएमबी) भनिन्छ ।

    २० जीबीपीएस गतिको स्पिडमा डेटा डाउनलोड गर्न सकिने हुँदा अग्मेन्टेड रियालिटी (एआर) अर्थात भर्चुअल रियालिटी (भीआर) का एप्लिकेसनहरू पनि चलाउन सक्छौँ । ​भर्चुअल रियालिटीका अनेकौँ प्रयोग हुन सक्छन् ।

    जस्तै शिक्षामा प्रयोग हुन सक्छ । हाम्रो कुनै पर्यटनमा प्रयोग हुन सक्छ । उदाहरणको लागि काठमाडौंमा बसिबसी हिमालयको दर्शन गर्न सक्छौँ ।

    हिमालयमा आफैं हिँडेजस्तो अनुभवका लागि भर्चुअल वातावरण तयार गर्न सकिन्छ । नेपालमा हाम्रो अर्को पर्यटन भनेको तीर्थ यात्रा हो । त्यसमा पनि हामी भर्चुअल रियालिटीमार्फत एकदमै राम्रोसँग काम गर्न सक्छौँ ।

    स्मार्ट सिटी बनाउनु पर्‍यो, स्मार्ट सिटीलाई निगरानी गर्नुपर्‍यो, प्रदुषण मापन गर्नुपर्‍यो अथवा हाम्रा पूर्वाधारलाई मनिटर गर्नुपर्‍यो भने धेरै ओटा सेन्सर सहितका इन्टरनेट अफ थिङ्स (आईओटी डिभाइस) हरू जोडेर त्यहाँबाट डेटा सङ्कलन गरेर त्यो डेटालाई विश्लेषण गरेर हाम्रो अवस्था केकस्तो छ भनेर अनुगमन गर्न सक्छौँ ।

    यस किसिमको सूचना तथा सञ्चार प्रविधिलाई म्यासिभ मसिन टाइप कम्युनिकेसन्सको नामबाट समेत बुझ्ने गरिन्छ ।

    फाइभजीमा अर्को अल्ट्रा रिलायबल एन्ड लो लेटेन्सी कम्युनिकेसन्स (यूआरएलएलसी) प्रविधि पनि छ । जुन चाहिँ अटोमेटेड  ड्राइभिङ अर्थात ड्राइभर बिनाका कार चलाउनु पर्‍यो भने त्यसका लागि आवश्यक एकदमै विश्वसनीय र न्यून लेटेन्सी (एक मिलिसेमेन्डमा डेटा आदानप्रदान गर्न सक्ने) क्षमतावान नेटवर्कको रुपमा समेत फाइभजी आउँदैछ ।

     

    फाइभजीबाट प्राप्त गर्न सकिने मुख्य सेवा

    १. मोबाइल ब्रोडब्यान्ड

    फाइभजीमा अहिलेको नेटवर्कभन्दा १०० गुणा चाँडो हुन्छ र यसले अग्मेन्टेड रियालिटी, भर्चुअल रियालिटी र मोबाइल गेमिङलाई सहज बनाउने छ र लाइभ फोरके स्ट्रिमिङ जस्ता काम समेत गर्न सकिनेछ ।

    यस्तोमा स्टेडियम वा म्युजिकल कन्सर्टबाट एकदमै राम्रोसँग अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी प्रयोग गरेर बाहिरबाट लाइभ जस्तै हेर्न सकिनेछ ।

    २. ब्रोडब्यान्ड इन्टरनेट अफ थिङ्स

    फाइभजीमा हामीले नयाँ सेवाहरू केके दिन सक्छौँ भन्ने सन्दर्भमा एउटा हो इन्टरनेट अफ थिङ्स (आईओटी)। आईओटी प्रयोग गरेर हामीले स्मार्ट सिटीका अवधारणालाई कार्यान्वयन गर्न सक्छौँ ।

    प्रदुषण मापन, विभिन्न ठाउँमा जोडिएका क्यामेरा, अलार्म तथा अलर्ट गर्ने मसिनमा यसको प्रयोग हुन सक्छ । यसको सहयोगमा यातायात सेवालाई स्मार्ट र सरल तथा सहज बनाउन सकिन्छ ।

    पानी र बिजुलीका लागि स्मार्ट मिटर राख्ने कार्यमा पनि यसको उपयोग गर्न सकिन्छ । यसका साथै स्वास्थ्यमा प्रयोग गर्न सकिने स्मार्ट डिभाइस, खेतिपाती तथा माटोको अवस्था मापन गर्ने डिभाइसहरू, बिजुलीको पोल र पुलको  पूर्वाधार मनिटरिङदेखि विपत जोखिम न्यूनिकरण लगायतका कार्यमा पनि यसको प्रयोग हुन सक्छ ।

    हाम्रो देश प्राकृतिक विपतदको हिसाबले अत्यन्तै जोखिमपूर्ण छ । हाम्रो अधिकांश हिमाल-पहाड रहेको भूगोलमा भुइँचालो, बाढी पहिरो जस्ता जोखिमलाई कम गर्न फाइभजी नेटवर्कमा आधारित आईओटी प्रणाली प्रयोग गर्न सकिन्छ ।

     

    ३. फिक्स्ड वायरलेस एक्सेस एफडब्लूए 

    यो भनेको चाहिँ घरघरमा वायरलेस इन्टरनेट प्रदान गर्ने सिस्टम हो । यस्तो प्रणाली नेपाल लगायत संसारभर अहिले पनि प्रयोग भइरहेको छ ।

    तर फाइभजी आएपछि वायरलेस र अप्टिकल फाइबरले उस्तैउस्तै अर्थात गिगाबिट प्रति सेकेन्डको स्पिडमा डेटा हामीले आदानप्रदान गर्न सक्छौँ । हाम्रो जस्तो भूगोल भएको मुलुकमा एफडब्लूए एकदमै आवश्यक छ ।

    हामी अप्टिकल फाइबर ओच्छ्याउन त सक्छौँ, तर हाम्रो जस्तो पहाडी भूभागमा अप्टिकल फाइबर ओच्छ्याएर त्यसलाई सधैँ कायम राख्न गाह्रो छ । अर्को कुरा हाम्रो देशमा संयोजन रहित सार्वजनिक विकास अभ्यास अन्तर्गत जुन डोजर आतङ्क छ, त्यसले गर्दा हामीले अप्टिकल फाइबर ओच्छ्याए पनि त्यसलाई प्रयोग गर्न सकिने अवस्थामा राखिराख्न अति गाह्रो छ ।

    म दैलेखकको दुल्लु नगरपालिकामा सञ्चालित एउटा जापानी परियोजनामा पनि म संलग्न छु । जसमा हामीले गत वर्ष अप्टिकल फाइबर ओच्छ्यायौँ । यो वर्ष जाँदा त्यो अप्टिकल फाइबर टुक्रा टुक्रा पारिएको छ ।

    कहिल्यै खानेपानीको लागि डोजरले खन्छ, कहिले बाटो बनाउँदा चुँडिन्छ त कहिल्यै पहिरो पन्छाउन खनेको छ । त्यहाँ फाइबरको कुनै काम छैन । यस्तो अवस्थाबाट छुट्करा पाउन फाइभजीमा आधारित फिक्स्ड वायरलेस एक्सेस सिस्टम अतिआवश्यक र अति नै उपयोगी देखिन्छ ।

     

    फाइभजी सञ्चालनमा प्रभाव पार्ने पक्षहरू

    १. नियमनकारी प्रबन्ध

     हामी अहिले फाइभजी डिप्लोयमेन्ट गर्ने कुरा गरिरहेका छौँ । त्यसमा सबैभन्दा महत्त्वपूर्ण र अत्यावश्यकीय पक्ष भनेको नियम कानूनको हुन्छ । त्यसै अनुसार हामीले फाइभजीका लागि फ्रिक्वेन्सी स्पेक्ट्रम छुट्याउने र वितरण गर्ने कार्य हुन्छ ।

    त्यसमा पनि अहिले परीक्षणको लागि फ्रिक्वेन्सी छुट्याइएको छ । तर उक्त फ्रिक्वेन्सी स्पेक्ट्रम अझैसम्म प्रयोगमा आउन सकेको छैन । त्यसैले आवश्यक नीतिगत व्यवस्था गरी छुट्याइएको फ्रिक्वेन्सी उचित समयमा सही सदुपयोग गर्नु अति नै आवश्यक छ ।

    २. प्राविधिक तयारी

    फाइभजी प्रविधि सुरु भएको सन् २०१८ देखिको गणना गर्दा अहिलेसम्म आइपुग्दा चार वर्ष पूरा भइसकेको छ । प्रविधिको रुपमा यो निकै नै परिपक्व भइसकेको छ । हाम्रा लागि कुन प्रविधि सुहाउँदो हुन्छ, हामी कसरी भेन्डर लकइन समस्याबाट जोगिन सक्छौँ भन्ने कुरा हामीले योजनाकै चरणमा नै पर्याप्त अध्ययन गरेर प्रविधि छनौट गर्नुपर्ने हुन्छ ।

    ३. संस्थागत तयारी

    यसमा नयाँ व्यवसाय तथा नयाँ सेवाको योजना के हुने भन्ने कुरा यसमा आउँछ । किन भने यो नयाँ प्रविधि हो । यसको सञ्चालन सफ्टवेयरले गर्नुपर्छ । समस्या आएको बेला सफ्टवेयरबाटै त्यसको समाधान गर्नुपर्छ ।

    पहिलेको जस्तो हार्डवेयर र सफ्टवेयर एउटै भएको मोनोलिथिक आर्किटेक्चर नभएको हुनाले त्यसलाई सञ्चालन गर्ने मानव जनशक्ति र सीप अति नै आवश्यक हुन्छ ।

    ४. कस्तो फाइभजी सुरु गर्ने ?

     फाइभजी सुरु गर्ने सन्दर्भमा मूलभूत दुई किसिमका तरिकाहरू छन्ः नन् स्ट्यान्डअलोन डिप्लोयमेन्ट र स्ट्यान्डअलोन डिप्लोयमेन्ट । नन् स्ट्यान्डअलोन डिप्लोयमेन्ट भनेको फोरजीकै कोर नेटवर्कमा फाइभजीका केही फङ्सनहरू राख्ने र फाइभजीका एन्टेनाहरू छुट्टाछुट्टै राख्ने ।

    यसमा एउटै कोर नेटवर्कमा फोरजी र फाइभजी दुवै चल्छ । यसको फाइदा भनेको विद्यमान फोरजी नेटवर्कलाई नै प्रयोग गरिने भएकाले चाँडै रोलआउट हुन्छ र लगानी पनि कम पर्न आउँछ ।

    बेफाइदाको कुरा गर्नुपर्दा यसले पूर्ण रुपमा फाइभजीको काम भने गर्न सक्दैन । भन्नुको अर्थ इन्ह्यान्स्ड मोबाइल ब्रोडब्यान्ड, मसिन टाइप कम्युनिकेसन, अल्ट्रा रिलायबलिटी तथा लो लेटेन्सी जस्ता सबै एप्लिकेसन यसले सपोर्ट गर्छ भन्ने हुँदैन ।

    त्यसको लागि हामीले फाइभजी स्ट्यान्डअलोन डिप्लोयमेन्टको बाटोमा जानुपर्ने हुन्छ । जसमा फाइभजी कोर नेटवर्क छुट्टै बनाइन्छ । बजारमा नयाँ प्रवेश गर्ने सेवाप्रदायकहरूका लागि यो तरिका सुहाउँदो हुन सक्छ ।

    यसमा फाइभजीका सबै सुविधाहरू हुन्छन् । यसमा एक पटक लगानी त हुन्छ तर पछिसम्मको दूरदृष्टि राख्ने हो भने रिसोर्स शेयरिङ हुने भएकाले यो सस्तो पर्न सक्छ र सञ्चालन खर्च पनि कम गर्न सकिन्छ ।

    सन् २०१० देखि दश वर्षसम्म फाइभजी सम्बन्धी अनुसन्धान विकास र स्ट्यान्डराइजेसनको कार्यमा संलग्न रहिसकेका काफ्ले । आईटीयूको स्ट्यान्डराइजेसन क्षेत्रमा फाइभज लगायत नवीनतम् प्रविधिको आर्किटेक्चर स्ट्यान्डर्ड कार्य गर्ने समूहमा समेत उनी संलग्न छन् ।

     

    फ्रिक्वेन्सी

    छिमेकी देश भारतसँग हाम्रा कतिपय कुराहरू मिल्दाजुल्दा छन् । भारतले मे २०२१ देखि मे २०२२ सम्म भएको फाइभजी ट्रायलका लागि ७०० मेगाहर्ज, ३.५ गिगाहर्ज र मिलिमिटर ब्यान्डमा २६ गिगाहर्ज ब्यान्ड छुट्याएको थियो ।

    त्यसैमा आधारित भएर त्यहाँका विभिन्न सेवाप्रदायहरूले फाइभजी परीक्षण गरे । गत वर्षको अगस्टमा भारतले ७००, ८००, १८००, ३३०० र २६ गिगाहर्ज ब्यान्डको ७२ हजार मेगाहर्ज फ्रिक्वेन्सी लिलामीमा राखेको थियो ।

    जसमध्ये ५१ हजार २३६ मेगाहर्ज वितरण भएको छ । जिओसँगै एयरटेल भारती, भोडाफोन आइडिया र अदानी डेटा नेटवर्क गरी चार ओटा कम्पनीले फाइभजी फ्रिक्वेन्सी प्राप्त गरेका छन् ।

    उदाहरणका लागि चारै ब्यान्डमा गरी रिलायन्स जिओले २४ हजार ७४० मेगाहर्ज फ्रिक्वेन्सी लिएको छ । सन् २०२२ को अक्टोबरमा भारतका १३ ओटा सहरमा फाइभजी सार्वजनिक गरिएको थियो । प्रविधि भेन्डरका रुपमा भारतमा पनि ह्वावे र जेडटीई मुख्य भेन्डरहरूमा रहेका छन् । साथै एरिक्सन र नोकिया पनि छन् ।

    स्पेक्ट्रमको कुरा गर्दा यसमा न्यु रेडियो फ्रिक्वेन्सी प्रयोग गरिन्छ ।  हामीले धेरै प्रयोग गर्ने ब्यान्डलाई लो ब्यान्ड भन्छौँ, जुन एक गिगाहर्जभन्दा तलका ब्यान्डहरू हुन्छ ।

    जसमा ७०० मेगाहर्ज, ८०० मेगाहर्ज, ९०० मेगाहर्ज पर्छन् । त्यसभन्दा माथि मिडब्यान्ड भन्छौँ, जसमा एक देखि छ गिगाहर्ज बीचका ब्यान्डहरू पर्छन् । जुन धेरै प्रयोगमा आउने गरेको छ । जस्तै १८००, २१००, २७०० ब्यान्डहरू यसमा आउँछन् ।

    त्यसभन्दा माथि हाई ब्यान्ड अर्थात मिलिमिटर वेभ जस्तै २६ गिगाहर्ज, २८ गिगाहर्ज, त्यसभन्दा माथि ३९ गिगाहर्ज, ४९ गिगाहर्ज, ९० गिगाहर्जसम्मका ब्यान्डविथ हामी फाइभजीमा प्रयोग गर्न सक्छौँ । फ्रिक्वेन्सीको कुरा गर्दाखेरि लो ब्यान्ड, मिड ब्यान्ड र हाई ब्यान्ड भन्ने गरिन्छ ।

     

    १. लो ब्यान्ड

    लो ब्यान्ड अर्थात एक गिगाहर्जभन्दा मूनिका ब्यान्डमा पनि फाइभजी सिस्टम फोरजीभन्दा चार गुणा धेरै क्षेत्र समेट्न सक्छ । सय गुणा बढी डिभाइसलाई जोड्न सक्छ र यो धेरै क्षेत्रलाई समेट्न सक्ने किसिमको भएकाले यो खासगरी ग्रामीण क्षेत्रका लागि उपयुक्त हुन्छ ।

    कभरेजको हिसाबले त्यही फ्रिक्वेन्सीले अहिले फोरजी नपुगेका स्थानमा समेत फाइभजी सेवा पुर्‍याउन सकिन्छ । लो ब्यान्डमा कभरेज त धेरै हुन्छ, तर यसले दिने ब्यान्डविथ भने कम हुन्छ ।

    कम ब्यान्डविथ भएकाले भर्चुअल रियालिटी, अग्मेन्टेड रियालिटी र फोरके भिडिओ लाइभ स्ट्रिमिङमा प्रयोग गर्न नमिल्ला । तर पनि थोरै डेटा पठाउने आईओटी डिभाइस (म्यासिभ मसिन टाइप कम्युनिकेसन),  स्मार्ट कृषि, लजिस्टिक व्यवस्थापन, यातायात व्यवस्थापन, स्मार्ट सीटीका लागि यो ब्यान्ड प्रयोग गर्न सकिन्छ ।

    २. मिड ब्यान्ड

    यसमा हामीले अहिले प्रयोग गरिरहेका बीचका ब्यान्डहरू पनि पर्छन् । यसमा एक देखि छ गिगाहर्जसम्मका ब्यान्डहरू रहेका छन् । यो ब्यान्डका फ्रिक्वेन्सीको माग धेरै हुन्छ ।

    यसमा डाउनलोड स्पिड फोरजीभन्दा १० गुणा बढी हुन्छ भने लेटेन्सी पनि आधाले घट्छ  र यी ब्यान्डहरू सहरी क्षेत्रमा ब्रोडब्यान्डका लागि काम लाग्छ । जुन यूआरएलएलसी अर्थात अटोमेटेड भेहिकल बनाउनु पर्‍यो भने, हेल्थ केयर बनाउनु पर्‍यो, पब्लिक सेफ्टी, इमर्जेन्सी रेस्क्यु तथा सपोट आदिमा प्रयोग गर्न सकिन्छ ।

    ३. हाई ब्यान्ड 

    यसमा अत्यधिक डेटा पठाउन सकिन्छ । जुन फोरझिको तुलनामा १०० गुणा फास्ट हुन्छ । लेटेन्सी दश गुणा न्यून हुन्छ ।

    र यो काठमाडौं जस्ता महानगरपकालिका र उपमहानगरपालिका जस्ता सघन सहरी क्षेत्रहरूका लागि उपयुक्त हुन्छ । यसमा रिमोट सर्जरी गर्नुपर्‍यो, स्टेडियम तथा कन्सर्टको लाइभ गर्नुपर्‍यो, अग्मेन्टेड रियालिटीका एप्लिकेसनहरू प्रयोग गर्न सकिन्छ ।

    जापानको अनुभव

    अहिले नेपालमा फाइभजी स्पेक्ट्रम छुट्याउने कार्य भइरहेको हुनाले जापानको उदाहरण उपयोगी हुन सक्छ । जापानमा सन् २०२० मा नै फाइभजी रिलिज भइसकेको हो । जापानमा फाइभजीका लागि ३.७ गिगाहर्ज, ४.५ गिगाहर्ज र २८ गिगाहर्जको ब्यान्ड छुट्याइएको छ ।

    ३.७ गिगाहर्ज ब्यान्डमा एउटा सेवाप्रदायकका लागि न्यूनतम १०० मेगाहर्ज फ्रिक्वेन्सीको प्याकेज बनाइएको छ । त्यति फ्रिक्वेन्सी लिनैपर्ने हुन्छ । ३.६ देखि ४.१ गिगाहर्जको बीचमा पाँच ओटा सेवाप्रदायकले एक/एक सय मेगाहर्ज लिएका छन् ।

    त्यस्तै जापानको सबैभन्दा ठूलो सेवाप्रदायक एनटीटी डोकोमोले ४.५ गिगाहर्जको फ्रिक्वेन्सी लिएको छ भने ३.८ मा पनि केडीडीआई, राकुटेन, एनटीटी डोकोमो र सफ्टबैंकहरूले फ्रिक्वेन्सी लिएका छन् ।

    यहाँ स्थानीय (लोकल) र निजी (प्राइभेट) प्रयोजनका लागि पनि ४.५ गिगाहर्जमा २०० मेगाहर्ज ब्यान्डविथ र २८ गिगाहर्जमा ९०० मेगाहर्ज ब्यान्डविथ लिएका छन् । फाइभजीमा स्ट्यान्डअलोन सर्भिस भन्ने हुन्छ ।

    जुन चाहिँ अरु पब्लिक सिस्टममा नजोडिकन प्राइभेट अर्थात निजी तवरमा फाइभजी सेवा पनि दिन सकिन्छ । किन भने यो सफ्टवेयरले क्लाउड तथा सर्भरमा बनाइन्छ ।

    यस्तोमा बेस स्टेसन बनाएर क्लाउडमा राख्ने हो भने जुनसुकै सानो संस्थाले पनि फाइभजी सेवा सुरु गर्न सक्छ । जस्तैः लोकल फाइभजी भयो । जुन भोलिको दिनमा डढेलो लाग्नबाट जोगाउने एप्लिकेसनमा प्रयोग गर्न सकिएला ।

    जापानमा समुद्रमा माछाहरू बढाउँदा माछा मनिटरिङ गर्नका लागि लोकल फाइभजी प्रयोग गरिएको छ । यस हिसाबले लोकल फाइभजीका लागि पनि ब्यान्डविथ छुट्याउनुपर्ने आवश्यक देखिन्छ ।

    (फाइभजीको अनुसन्धार, विकास तथा स्तरीकरण (स्टाण्डर्डाइजेसन) गर्ने प्रकृयामा प्रत्यक्ष अनुभव हासिल गरेका डा वेदप्रसदा काफ्ले नेसनल इन्स्टिच्युट अफ इन्फरमेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी जापानमा अनुसन्धान प्रबन्धकको रुपमा कार्यरत छन् । उनले केही दिन अघि राजधानीमा जारी एक कार्यक्रममा दिएको भर्चुअल प्रस्तुतिको आधारमा तयार पारिएको सामग्री ।)