भारतीय कडाइले नेपाली चियाको मुख्य बजार नै अन्योल


  • admin
  •    
  • August 17, 2022

  • भारतीय कडाइले नेपाली चियाको मुख्य बजार नै अन्योल

    भारतले आयातमा कडाइ गर्ने गरी कानुन बनाउने तयारी गरेपछि नेपाली तयारी चियाको मुख्य बजारमै संकट आइपर्ने देखिएको छ। ८० देखि ९० प्रतिशतसम्म नेपाली तयारी चिया निर्यात भइरहेको भारतले आयातमा ४० देखि शतप्रतिशतसम्म कर लगाउने सम्भावना बढेपछि किसान, उद्योगी र व्यवसायी अन्योलमा छन्।

    नेपाली चिया निरुत्साहित गर्ने गरी भारतीय राज्यसभाको स्टेन्डिङ कमिटी अफ् कमर्सले एक सय ७१ नम्बर रिपोर्ट राज्यसभा र लोकसभामा लगेको हो। रिपोर्टमा कमिटीका ३० सांसदले नेपालबाट गुणस्तरहीन चिया भारत आयात भइरहेको भन्दै यसलाई रोक्न प्रस्ताव गरेका छन्। नेपाली चियालाई ४० प्रतिशतसम्म ‘एन्टी डम्पिङ’ शुल्क र शतप्रतिशत आयात भन्सार शुल्क लगाउन उनीहरूको सुझाव छ।

    नेपाली चिया दार्जिलिङको चियाका नाममा व्यापार गर्दा त्यसले सिंगो भारतको चिया बद्नाम हुनसक्ने भन्दै ती सांसदले आयात कडाइको प्रस्ताव गरेका हुन्। विशेषगरी दार्जिलिङ क्षेत्र र भारतीय चिया उद्योगलाई असर गर्ने सबाल सांसदले १५ जुन २०२२ मा पेस गरेको रिपोर्टमा उल्लेख छ। यो प्रस्ताव त्यसै दिन भारतीय लोकसभामा पनि पेस भएको छ।

    भारतमा सन् २०२१ को ११ महिनामा अन्य देशबाट २ करोड २९ लाख ४० हजार किलो चिया आयात हुँदा नेपालको हिस्सा आधा रहेको र यसमध्ये धेरै चिया गुणस्तरहीन रहेको रिपोर्टमा उल्लेख छ। नेपाली चिया मिसाएर दार्जिलिङ र आसाम ब्रान्डमा अन्य मुलुक निर्यात गर्दा भारतीय चियाको बजार खस्किने भन्दै रिपोर्टमा ध्यानाकर्षण गरिएको छ।

    नेपाल–भारत वाणिज्य सन्धिमा समेत आधारभूत भन्सार शुल्क हेरफेर गर्न सकिने प्रावधान रहेकाले नेपालको चियालाई यसमा उपयोग गर्नुपर्ने, नेपालले भारतको चिया आयात गर्दा ४० प्रतिशत भन्सार शुल्क लिएपनि भारतले नेपाली चिया निःशुल्क आयात गर्न दिएकाले यो नीति असमान भएको रिपोर्टमा उल्लेख छ।

    नेपाली चियालाई एउटै नाकाबाट मात्र आयात गर्ने व्यवस्था गर्नुपर्ने र भन्सारमै गुणस्तर परीक्षण गर्नेगरी मापदण्ड बनाइनुपर्ने पनि यसमा उल्लेख छ। रिपोर्टमा प्रिमियम दार्जिलिङ चिया संरक्षण गर्न र भारतीय चिया उद्योगको ख्याति बचाउन नेपालीको चिया आयातमा कडा नीति बनाउनुपर्ने समेत लेखिएको छ।

    नेपाली तयारी चियाको मुख्य बजारका रूपमा रहेको भारतले यस्तो प्रावधान ल्याउने सम्भावनाले उद्योगी–व्यवसायी त्रसित छन्। उनीहरूले संघीय सरकारमार्फत् नै चियाको व्यापारमा आउनसक्ने संकटबारे प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न सम्बन्धित निकायमा समेत उचित पहलका लागि आग्रह गरेका छन्।

    सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनले भारतको संसद्ले त्यो बिल (प्रस्ताव) पारित गरे यहाँका चिया उद्योग बन्द हुने बताएको छ। एसोसिएसन अध्यक्ष उत्तम श्रेष्ठले भारतमा नेपाली चिया निर्यात रोकिनुअघि नै कूटनीतिक पहल गर्नु अनिवार्य रहेको बताए। ‘चियामा सयौं समस्या छन् तर अहिलेको चुनौती चाहिँ भारतीय सभामा पेस भएको बिल नै हो,’ उनले भने, ‘यो बिल पारित भए इलामका सबै चिया उद्योग बन्द हुन्छन्।’

    उनले नेपाली चिया बिक्रीका लागि भारतमा मात्रै निर्भर हुने अवस्था अन्त्य गर्न पनि सरकारसमक्ष आग्रह गरे। अहिले नेपालको चिया भारतीय अक्सनमा बिक्री हुँदैन। व्यापारीमार्फत् सस्तो मूल्यमा मात्रै विक्री भइरहेको छ। नेपाली व्यापारीका अनुसार भारतीय अक्सनमा त्यहीका व्यापारीले नेपाली चिया पुर्‍याउने हो भने त्यसको मूल्य महँगो पर्छ र त्यही मूल्यमा ४० प्रतिशतदेखि शतप्रतिशतसम्म भन्सार शुल्क तिर्नुपर्ने हुन्छ।

    एसोसिएसनका कोषाध्यक्षसमेत रहेका अर्का उद्योगी महेश अर्यालले भन्सार शुल्क जति बढी लाग्छ, नेपालबाट निर्यात हुने चियाको मूल्य त्यही दरमा घटेर जाने बताए। ‘भन्सारमा भारतीय व्यापारीले नेपालको चियालाई ४० प्रतिशत शुल्क तिर्नु भनेको त्यो शुल्क यहाँका उद्योगी र किसानले व्यहोर्नु हो,’ उनले भने, ‘यो हिसाबले चिया बेच्दा न किसानको लगानी उठ्छ, न उद्योगीको।’ उनले सन् २०२३ सम्ममा कुनै न कुनै रूपमा भारतले नेपाली चिया विक्रीमा अवरोध गर्ने योजना बनाइरहेको पनि जनाए।

    भारतले अहिले पनि नेपालको तयारी चिया कोलकातास्थित सेन्ट्रल फुड ल्याब (सिएफएल) को परीक्षण पास भएपछि मात्रै आयात गरिरहेको छ। एक पटक परीक्षण गरेको चिया ६ महिनासम्म निर्यात गर्न पाउने प्रावधान छ। तर, यो परीक्षण गराउन पनि निकै झन्झटिलो र महँगो परिरहेको निर्यातकर्ताको गुनासो छ। ल्याबको रिपोर्ट कुर्न साता–१० दिन लाग्ने र कुनै न कुनै बहानामा नेपाली चिया भारत लैजान भारतीय भन्सारमै अवरोध प्रयास भइरहेको व्यापारीको गुनासो पुरानै भइसकेको छ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सदस्य तथा एसोसिएसनका पूर्वअध्यक्ष पुनम राईले सरकारले भारतलगायत विभिन्न देशसँग सरकार–सरकार (जि टु जी) सम्झौता नगरे चियाको भविष्य अन्योल रहेको गुनासो गरे। ‘भारतले कुनै न कुनै बहानामा नेपालको चिया रोकिदिने प्रयास गरेको धेरै समय भयो,’ उनले भने, ‘यो बारम्बारको समस्या उद्योगी, व्यवसायी, स्थानीय र प्रदेश सरकारको तहबाटमात्र समाधान हुँदैन, दुवै देशका सरकारबीच सम्झौता गर्नुपर्छ।’

    उनले भारतमात्र नभइ अन्य देशमा समेत नेपाली चिया बिक्रीका लागि जि टु जी नगरिए चियाको सम्भावना शून्य बन्ने बताए। स्वदेशमै नेपाली चियाको खपत बढाउनेगरी प्रोत्साहन गर्नसके पनि एक हदसम्मको समस्या समाधान हुने उनको भनाइ छ। चिया उद्योगी र किसानले गुणस्तरीय तयारी चिया विक्रीका लागि बाटो सहज बनाउन संघीय सरकारको भूमिकामात्रै प्रभावकारी बन्ने अवस्था आएको बताए।

    ‘अहिले भारतले नेपाली चिया प्रतिबन्ध गर्नेगरी जुन बाटो अख्तियार गर्दैछ, यो समस्या अहिलेको मुख्य हो,’ अर्का उद्योगी जीवन नेपालले भने, ‘सरकारले गम्भीर भएर यो समस्या समाधान गरिदिए मात्र नेपालको चिया व्यवसाय जोगिने अवस्था छ अहिले।’ चियामा गुणस्तर कायम र बजार प्रवर्द्धन गर्न अर्थाेडक्स चियाको राजधानी मानिएको सूर्याेदय नगरपालिकाले २०७५ सालमै कार्यविधि निर्माण गरी लागू गरेको छ।

    तर, कार्यविधि पूर्ण रूपमा पालना हुन नसक्दा चियाको गुणस्तर खस्किएको स्वयम् उद्योगी र किसान नै स्वीकार्छन्। चियामा समस्या थपिँदै गएपछि नगरले त्यसको दीगो समाधानका लागि अहिले वडा १० का अध्यक्ष पेमा उग्येन लामा संयोजकत्वको कार्यदल नै गठन गरेको छ। संयोजक लामाले भारतले नेपाली चियालाई जबर्जस्ती गुणस्तरहीन देखाउन खोजिरहेको बताए। उनले नेपाली चियामा बारम्बार भारतीय व्यापारीबाट समस्या आइरहेको भन्दै त्यसको समाधान गर्न समन्वय आवश्यक रहेको बताए।

    ‘यहाँको चिया समस्यालाई स्थानीय सरकारले नजिकैबाट हेरेको छ र समाधानको प्रयास पनि गरिरहेको छ,’ उनले भने, ‘नगरका मेयरसमेत रहेको टोलीले पछिल्लो समय भारतमा नेपाली चिया विक्रीका लागि आउनसक्ने अवरोधबारे ध्यानाकर्षण गरेको छ,’ उनले भने, ‘हामी स्थानीय सरकारले चियाको प्रवर्द्धनका लागि गर्नुपर्ने काम गर्छाैं, संघीय सरकारले गर्नुपर्ने समन्वयका लागि सरकारलाई आग्रह गर्छाैं।’

    उनले कार्यदलले सबै सरोकारवालासँग छलफल गर्ने योजना बनाउने बताए। नेपालबाट बर्सेनि सवा तीन अर्ब रुपैयाँको तयारी चिया निर्यात हुन्छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार सन् २०२०/०२१ मा २ करोड २७ लाख ४५ हजार किलो तयारी चिया उत्पादन भएको छ। यसमा १ करोड ५६ लाख ४१ हजार किलो सिटिसी र ७१ लाख ६८ हजार किलो अर्थाेडक्स छ।

    अर्थाेडक्स चियाको ५ देखि १० प्रतिशत तेस्रो मुलुक निर्यात हुन्छ भने कुल उत्पादनमा नेपालको खपत पनि यही प्रशिशतमा मात्रै रहेको व्यवसायी बताउँछन्। बाँकी सबै चिया भारत निर्यात हुनेगरेको छ। इलाम र झापामा चियाको खेती बढी हुन्छ। पाँचथर र तेह्रथुमहित १३ जिल्लामा चियाको केही बढी खेती हुने गरेको छ भने पछिल्लो समय २८ जिल्लाको १६ हजार ९ सय २० हेक्टरमा चिया खेती विस्तार भएको तथ्यांक छ।

     

    ताजा समाचार