सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भवः मेयर शाह


  • admin
  •    
  • September 7, 2022

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन्।

    उनले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताएका हुन्। इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरुको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए।

    उनले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताए उनले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरु पूजा गर्नमा मात्र सिमित नभइ मनोरञ्जन,उत्साह र उमङ्ग,खुशीेसँग जोडिएको बताए। मेयर साहले काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरुको छुट्टाछुट्टै महत्व रहेको भन्दै सबै पर्वहरुलाई छुट्टा छुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताए।

    उनले भने,‘ महानगरले इन्द्रजात्रालाई काठमाडौं महानगरपालिका भित्र मात्रै नभएर नेपालभर र विश्वमा समेत गरी विश्वमा नै फैल्याउने उद्देश्य रहेको छ। देशको सौन्र्दय भनेकै मूर्त र अमूर्त सम्पदा हुन्। नेपाल पर्यटनमा धेरै अगाडि बढ्नसक्ने देश हो। नेपालमा भएका सम्पदा संरक्षण गर्नसक्यौं भने मात्रै पनि पर्यटन क्षेत्रको राम्रो विकास गर्न सक्छौं। नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा र परम्परा पर्वहरु आफैँमा पूजा गर्ने मात्रै नभएर मनोरञ्जन,उत्साह र उमङ्ग,खुसीसँग पनि जोडिएको हुनाले संरक्षण गर्नुपर्छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरुको छुट्टाछुट्टै महत्व रहेको छ। सबैलाई छुट्टा छुट्टै तरिकाले जोगाउँदै जानुपर्छ।’

    इन्द्रजात्रा कोभिडको कारण केही वर्ष मनाउन सकिएको थिएन। तर यो वर्ष भने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई समेत बोलाएर जात्रा मनाउन लागिएको महानगरले जानकारी दिएको छ। जात्रा आवलोकन गर्न दक्षिण एशियाली मुलुकका राजधानी शहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ। काठमाडौं उपत्यकामा बुधबारदेखि इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ।

    ताजा समाचार