सांसदहरूले विवेक प्रयोग गर्छन् भन्ने विश्वास छः राष्ट्रपतिका उम्मेदवार नेम्वाङ


  • admin
  •    
  • 22 days-ago

  • फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र  एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदै छ। राष्ट्रपति निर्वाचनको सेरोफेरोमा रहेर नागरिककर्मी पुष्प भट्टले राष्ट्रपतिका उम्मेदवार नेम्वाङसँग गरेको कुराकानीको सम्पादित अंश

    राष्ट्रपति पदमा तपाईंको उम्मेदवारी किन?

    नयाँ बनाएको संविधानअनुसार राष्ट्रपतिको विशेष खालको जिम्मेवारी छ। एउटा अभिभावकको रूपमा देशको राष्ट्राध्यक्षको रूपमा उसले जिम्मेवारी बहन गर्दै देशलाई ठिक गन्तव्यमा पुर्‍याउन आफ्नो तहबाट संविधान र कानुनबमोजिम भूमिका निर्वाह गर्न सक्छ। अहिलेसम्मका अनुभवलाई ध्यानमा राखेर मैले यो भूमिका निर्वाह गर्न अग्रसर हुँदा राम्रो हुन्छ भन्ने लागेर सबै दलका साथीले मलाई भन्नुभयो र त्यसैका आधारमा म अगाडि बढें।

    आफूलाई नै उपयुक्त पात्र कसरी ठान्नुहुन्छ?

    योभन्दा अगाडि स्व. मनमोहन अधिकारीजीको सरकारमा कानुनमन्त्री थिएँ। त्यसपछि सार्वजनिक लेखा समितिको सभापति र २०६२/६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभामा सर्वसम्मत सभामुख, माओवादी कमरेडहरू मूल प्रक्रियामा आइसकेपछिको व्यवस्थापिका संसद्मा सर्वसम्मत सभामुख र संविधान निर्माणको प्रक्रियालाई टुंगोमा पुर्‍याउन गठित दुईवटै संविधानसभाको ३१ वटा राजनीतिक दलहरूको तर्फबाट सर्वसम्मत संविधानसभा अध्यक्ष भएकाले मलाई लाग्छ मेरो बारेमा दलहरू विगतमा एउटा ठाउँमा पुगिसकेको अवस्था हो। अहिले मैले त्यही संविधान जुन संविधान मेरो अध्यक्षतामा बन्यो, त्यो संविधानको पालना र संरक्षणको जिम्मा लिएर अगाडि बढ्दा उपयुक्त हुन्छ भनेर म अग्रसर भएको हुँ।

    अंकगणितको हिसाबले तपाईंको पक्षमा मतभार कम देखाउँछ, जित्ने आधार के देख्नुहुन्छ?

    जनताको भावनाको कुरा गर्ने हो भो मेचीमहाकाली तराईमधेस हिमालसम्म मेरो पक्षमा उभिएको देखिनुहुन्छ। तर मत हाल्ने सामान्य जनताले होइन, त्योभन्दा माथि निर्वाचित संघीय संसद् र सातै प्रदेशसभाका प्रदेशसभा सदस्यको निर्वाचन मण्डलले राष्ट्रपति र उपराष्ट्रपतिको मतदान गर्छन्। हामीले अंकगणित भनिरहँदा के अंकगणित ? हामीले त्यो प्रस्ट्याउन आवश्यक छ। वास्तममा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्दा संसद्मा कुनै प्रस्तावलाई अगाडि बढाइराखेको हुँदैन।

    संसद्मा प्रस्ताव अगाडि बढ्दा त्यहाँ निश्चय नै एउटा स्थिति हुन्छ। त्यहाँ हुइपका कुराहरू हुँन्छन्। तर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको हकमा निर्वाचन मण्डलले निर्वाचन गराइरहँदा त्यो ‘क्लियर एन्ड फेयर’ निर्वाचनको धारणामा आधारित भएर विवेकको मत प्रयोग गर्ने ढंगले स्वस्थ र स्वच्छ निर्वाचनको प्रक्रिया अपनाएर विवेकको मत प्रयोग गर्ने हिसाबले अगाडि बढ्ने काम हुन्छ। मैले अहिलेसम्म जति पनि दलहरू र संघीय संसद्देखि प्रदेश सांसदहरूसँग सम्पर्क गरेको छु, सबैले विवेकको मत प्रयोग गर्दा हामी तपाईंलाई सहयोग गर्छौं भन्नुभएको छ। त्यसैले म उत्साहित छु।

    विजयी हुनेमा विश्वस्त हुनुहुन्छ?

    म विश्वस्त छु र उत्साहित पनि छु।

    अहिलेको समीकरण हेर्दा जित सुनिश्चित नभए पनि यो समीकरण फेरबदल गरी आफ्नो पक्षमा पार्न हुनसक्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ?

    देशमा समीकरणहरू परिवर्तन भइरहेका देखिन्छन्। त्यसतर्फ अहिले म जान चाहन्न। त्यो ठिक भयो भएन। त्यसतर्फ पनि जान चाहन्न। तर एउटा कुरा भन्छु, संसद्मा रहेका सबै राजनीतिक दलहरू संघीय संसद्देखि प्रदेशसभासम्मका सबै राजनीतिक दलहरूसँगको मेरो राम्रो सम्बन्ध छ। त्यो संविधानसभाको अध्यक्षको हैसियतले सबैको सर्वसम्मत सहयोग र समर्थन पाएर संविधान निर्माणको प्रक्रियालाई टुंगोमा पुर्‍याइसके पछाडि पनि निरन्तर मेरो दल र दलका नेताहरूसँग हार्दिक सम्बन्ध छ।

    त्यसैले समीकरणको परिवर्तन वा अंकगणित यी सब कुराले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा धेरै फरक पार्दैन। यो भनेको विवेक प्रयोेग गर्ने ठाउँ हो। संविधान र कनुन बमोजिम दिएको जिम्मेवारी पूरा गर्ने र देशलाई राष्ट्रिय एकता कायम राख्न भूमिका कसले पूरा गर्नसक्छ, संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी कसले राम्रोसँग गर्न सक्छ यो कुरालाई विचार गरेर दलहरूले साथै सांसदहरूले विवेकको प्रयोग गर्छन् भन्ने मलाई विश्वास छ।

    मेरो हकमा त म ‘टेस्टेड’ हुँ। योभन्दा खरो टेस्ट भइसकेको छ। दलहरूले मलाई पटकपटक सर्वसम्मत सभामुख बनाएका छन्। संविधानसभाको अध्यक्ष बनाएका छन्। त्यसैले म एकदमै विश्वस्त छु।

    अहिले सर्वसम्मतिको अवस्था पनि देख्नुहुन्छ?

    जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो। त्यसैले स्वस्थ प्रतिस्पर्धा हुनु अन्यथा होइन। त्यसैले जुन प्रतिस्पर्धामा हामी छौं, यो प्रतिस्पर्धा स्वयं पनि हामी सबैले छनोट गरेको प्रक्रिया हो। त्यसैले यो प्रक्रियामा जानुको अर्थ कुनै एउटा समान निष्कर्षमा पुगेनन् दलहरू झकडा भयो भन्ने अर्थमा लिनु हुँदैन।

    तपाईंको पार्टी अध्यक्षले विभिन्न दलसहित दलविीिन सांसदहरूलाई तपार्ईका पक्षमा पत्र लेखेरै भोट माग्नुभएको छ। उहाँहरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

    अध्यक्षले सबै दलहरूलाई चिठी लेख्नुभयो। नेपाली कांग्रेसको रूपमा व्यक्तिगत रूपमा सबैकोमा पुग्ने भन्ने छ। म सबैलाई फोन गरिरहेको छु। भेटिरहेको छु र प्रतिक्रिया राम्रो पनि पाएको छु। उत्साहजनक छ र सबैले हामी तपाईंलाई सहयोग गर्छौं भन्नुभएको छ। कतिले हामी यसमा विचार गर्छौं भन्नुभएको छ।

    हिजो (मंगलबार) मात्रै प्रधानमन्त्रीलाई भेट्नुभएको थियो, उहाँबाट कस्तो प्रतिक्रिया पाउनुभयो?

    मैले प्रधानमन्त्रीजीलाई भेटेर अहिलेको सन्दर्भमा पनि कुरा गरेँ। अहिलेको जुन सन्दर्भ छ, त्यसले फेरि अन्योल उत्पन्न भएको छ। जनतामा कताकता यो के हो भन्ने निराशा पनि पैदा गरेको छ। त्यस्ता कुरामा दलहरूले ध्यान पुर्‍याउनुपर्दछ।

    अहिले जुन चुनौतीमा सिंगो देश छ। त्यो चुनौतीबीच दलहरू एक ठाउँमा पुग्नुपर्छ। आफ्ना आफ्ना कुरा हुन्छन्, प्रतिस्पर्धा हुन्छ तर दलहरू एक ठाउँमा उभिनुपर्छ भन्दै मैले त्यसपछाडि उहाँलाई राष्ट्रपतिमा यहाँको सहयोग हुनुपर्‍यो, यहाँको दलका साथीको सहयोग हुनुपर्‍यो भनेर संविधान निर्माणको सन्दर्भमा मैले खेलेको भूमिका र शान्ति प्रक्रियाको सन्दर्भमा खेलेको र खेलिरहेको भूमिकाबो चर्चा गरेँ। उहाँले पनि त्यो ठिक भन्नुभयो। भूमिका राम्रोसँग सम्झना छ भन्नुभयो। उहाँले शुभकामना छ भन्नुभयो।

    सहयोगको कुरा?

    शुभकामनाभित्र धेरै कुरा छन्। त्यो अहिले चर्चा नगरौं।

    एक हप्ताबीच समीकरण परिवर्तन पनि हुन सक्छ?

    मैले राष्ट्रपतिको निर्वाचनसँग समीकरणको कुरालाई जोडेको छैन। म अहिले राष्ट्रपतिको निर्वाचनमा मेरो उम्मेदवारी उपयुक्त छ। यहाँहरूको सहयोग हुनुपर्‍यो भनेर स्वयं प्रधानमन्त्रीजीलाई र शेरबहादुर (कांग्रेस सभापति देउवा)जीलगायत सबै साथीभाइसँग म मत मागि रहेको छु। त्यसैले मैले समीकरणसँग जोडेर राष्ट्रपतिको निर्वाचनको प्रक्रियालाई हेरेको छैन।

    आलंकारिक राष्ट्रपति पदका लागि यस पटक उम्मेदवार छनोटमा राजनीतिक दलबीच यति धेरै लुछाचुँडीको अवस्था सृजना हुनुको कारण के हो जस्तो लाग्छ?

    सुरुदेखि अहिलेसम्मै राष्ट्रपतिको निर्वाचनमा हामी दुईजना उठेका छौं। त्यसरी हेर्दा त सारै लुछाचुडी देखिएन। तर अर्कोतिर जनताले कतिपय प्रश्नहरू गुनासा उठाएका छन्। ती सबै कुरालाई दलहरूले मिलाउनुपर्छ, विवादै छैन। यो ठ्याक्कै १३ गते बिहान मात्रै दुवै पक्षले निर्णय नगरी अलि अगाडि निर्णय भएको भए, अलि बढी छलफल गर्ने समय प्राप्त हुन्थ्यो होला। त्यो पनि प्रश्न उठेको छ। तर जे होस् हामीले एउटा स्वस्थ प्रतिस्पर्धालाई अगाडि बढाएका छौं। यो स्वस्थ प्रक्रियाबाट एउटा राम्रै निष्कर्ष आउँछ भन्ने मलाई विश्वास छ।

    के हो यो राष्ट्रपतिको पद? कस्तो हुनुपर्छ राष्ट्रिपति?

    योभन्दा अगाडि हामी एउटै विशेष कुलमा जन्मिएको त्यो पनि जेठो छोरा राजा हुने प्रक्रियामा थियो। लामो समयपछि त्यसलाई परिवर्तन गर्‍यौं। हामी अहिले गणतन्त्रमा छाैं। अहिले मेचीमहाकाली, तराई मधेसदेखि हिमालसम्मका जनताको जुनसुकै तहमा कुलमा जन्मिएका छोरा वा छोरी हुन्, राष्ट्रपति हुनसक्छ भन्ने प्रक्रियामा हामी प्रवेश गरेका छौं। हामीसँग दुईजना राष्ट्रपतिको अनुभव छ।

    उहाँहरूले भोग्नु परेका समस्या उहाँहरूको अनुभव सिंगो देशको अनुभव हो। एउटा विशेष कुलमा जन्मिएर मात्रै राष्ट्राध्यक्ष हुने जुन प्रक्रिया छ त्योभन्दा अहिले जनताको छोरा वा छोरी राष्ट्राध्यक्ष हुने प्रणाली हामीले बनाएका छौं। त्यो प्रणालीलाई ध्यानमा राखेर यो भन्दा अगाडिका राष्ट्रपतिज्यूहरूले देखाउनुभएको उदाहरणलाई समेत ध्यानमा राखेर म के भन्छु भने हाम्रो राष्ट्रिपति जनताको राष्ट्रपति हुनुपर्छ। जनताको राष्ट्रपतिको रूपमा शीतल निवासबाट बाहिर निस्किँदा सडक र आकास जाम हुनुहुँदैन। अवरुद्ध हुनु हुँदैन। जनताले सहजता महसुस गर्नुपर्छ। किनभने ऊ जनताको राष्ट्रपति हो। यो ढंगले सिंगो देशको अभिभावकको रूपमा काम गर्ने। सबैका लागि साझा व्यक्तित्व, सबै धर्मावलम्बीका लागि साझा व्यक्तित्व तराईमधेसदेखि हिमालसम्मका सबै जनताको साझा व्यक्तित्व अभिभावकको रूपमा राष्ट्रिपतिले काम गर्नुपर्छ। संविधान र कानुनबमोजिम काम गर्नुपर्छ।

    विगतका दुई राष्ट्रपतिको कामको मूल्यांकन कसरी गर्नुभएको छ?

    कतिपय उहाँहरूका दुःख होलान्। कतिपय त्यसमा टिप्पणीका विषय होलान्। अहिले म त्यसतर्फ जान चाहन्नँ। तर यति भन्छु, उहाँहरूको अनुभव हाम्रो अनुभव हो। त्यो समेतको अनुभवलाई ध्यानमा राखेर अब आउने दिनमा हामीले काम गर्नुपर्छ। हुनसक्छ उहाँहरूले पनि हामीले भनेका कुराहरू व्यवहारमा उतार्ने प्रयास गर्नुभएको थियो होला। तर त्यसो गर्दा गर्दै जस्तो अहिले म जनताको राष्ट्रपति भनिरहेको छु। जनताको राष्ट्रपति बन्न उहाँहरूले आफ्नो ठाउँबाट प्रयास गर्नुभएको होला। तर कतिपय अप्ठ्यारा देखा परे होलान्। ती अप्ठ्याराहरू समेतलाई आत्मसात् गर्दै यदि राष्ट्रपति बन्न पुगेँ भने म जनताको राष्ट्रपति बन्ने प्रयास गर्नेछु।

    तपाईंसँगै राष्ट्रपतिमा प्रतिस्पर्धा गरिरहनुभएका रामचन्द्र पौडेललाई केही भन्न चाहानुहुन्छ?

    उहाँलाई म एक राम्रो मित्र ठान्छु। लामो समयदेखि हामी सँगै छौं। उहाँ प्रतिनिधिसभाको सभामुख हुँदा म मनमोहन अधिकारीको क्याबिनेटमा कानुनमन्त्री थिए। त्यहाँदेखि हामी सँगै छौं। नजिकबाट देखेको छु तर उहाँको बारेमा म अरू कुनै टिप्पणी गर्न चाहन्नँ। उहाँप्रति मेरो शुभकामना छ। हार्दिकता छ। तर यस्तै भो निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामा उत्रिए पछाडि जित र हार हुन्छ। यस पटक कसो कसो सबै हिसाबले म जित्छु भन्ने विश्वास छ।

    यसबीच सम्पर्क वा भेट भएको छ?

    हाम्रो भेट भइरहन्छ। किनभने उहाँ पनि प्रतिनिधिसभामा हुनुुहुन्छ अहिले। मत निरन्तर नै प्रतिनिधिसभामा छु। मेरो भेटघाट भइरहन्छ। यो विषयमा कुरा भएको छैन। एक अर्कासँग हात मिलाउँछौं। र एक अर्कालाई शुभकामना दिन्छौं। त्यति छ।

    ताजा समाचार