स्ववियु निर्वाचन : आज प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने


  • admin
  •    
  • March 11, 2023

  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत शनिबार उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिलासहितका कार्यक्रम रहेको छ।

    त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने कार्यक्रम छ।

    साथै शनिबार नै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ। स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ।

    आंगिक क्याम्पसका बढी मतदाता, सबैभन्दा धेरै पोखराको पिएन क्याम्पसमा

    आंगिक क्याम्पसतर्फ १ लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन् ।

    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आंगिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी सङ्ख्या प्राप्त भएको बताए ।

    उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आंगिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने मतदाता सङ्ख्या प्राप्त भएको छ । उहाँले त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया सुरु नभएकाले मतदाता सङ्ख्या यकिन नभएको बताए ।

    उपत्यकाका २१ क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन् । निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पिएन) बहुमुखी क्याम्पसमा रहेको बताए ।

    पिएन क्याम्पसमा १० हजार आठ सय ७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने जनाइएको छ । पिएनपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार दुई सय ६२ तथा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा सात हजार एक सय नौ विद्यार्थी सहभागी हुँदैछन् । उपत्यका बाहिर सबभन्दा कम विद्यार्थी मतदाता चितवन इञ्जिनियरिङ क्याम्पस चितवनमा ७१ छन् ।

    उपत्यकामा धेरै शंकरदेव क्याम्पस

    यस्तै उपत्यकामा सबभन्दा बढी विद्यार्थी शंकरदेव क्याम्पसमा छन् । शंकरदेवमा ८ हजार ४ सय ९० विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता छन्।

    शंकरदेवपछि नेपाल कमर्स क्याम्पस मिनभवनमा ८ हजार १ सय ८८, पाटन संयुक्त क्याम्पसमा ७ हजार ६ सय ९ र पद्मकन्या बहुमुखी क्याम्पसमा ५ हजार ५ सय ९२ विद्यार्थी मतदाता छन्। त्रिविको केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९ मतदाता छन् । उपत्यकामा सबैभन्दा थोरै विद्यार्थी आयुर्वेद क्याम्पस कीर्तिपुरमा एक सय ५१ छन् ।

    देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी मतदाता छन् । करिब एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचनको चहलपहल बढेको छ ।

    चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई शुक्रबार मनोनयन पत्र वितरण गरिएको छ । आज बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

    ताजा समाचार