१९ सिट बाँडफाँड गर्न गठबन्धनभित्र रस्साकस्सी, दलहरूको अडानले पुगेन भाग


  • admin
  •    
  • January 6, 2024

  • राष्ट्रियसभा निर्वाचनको सिट संख्या बाँडफाँड गर्न गठबन्धन दलबीच रस्साकस्सी चलेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सिट नदिने सहमति भएसँगै सत्ता गठबन्धनभित्र सिट संख्या बाँडफाँडमा रस्साकस्सी चलेको हो।

    गठबन्धनका प्रमुख दललको आ-आफ्नै अडानले सिट संख्या बाँडफाँड हुन सकेको छैन। प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धन बैठकले सिट बाँडफाँड टुंगो लगाउने बताइएको छ। दलहरूको अडानले भाग नै नपुग्ने अवस्था आएको स्रोतको भनाइ छ। ‘सबै दलको आ-आफ्नै अडान छ। सबैको अडान सम्बोधन गर्ने हो भने कसैलाई पनि भाग पुग्ने अवस्था छैन,’ अन्नपूर्णसँग ती स्रोतले भन्यो।

    नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले सिट बाँडफाँडमा रस्साकस्सी भइरहेको बताए। प्रमखु दलहरूको अडानले सिट संख्या बाँडफाँड हुन नसकेको उनको भनाइ छ। ‘सिट संख्यामा रस्साकस्सी भएकै हो। यद्यपि गठबन्धनको अहिले बस्ने बैठकले टुंगो लगाउने भनेको छ,’ उनले भने।

    उनले एकीकृत समाजवादीको तर्फबाट सिट संख्या दाबी गर्ने जिम्मा अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको बताए। ‘उहाँहरूलाई नै सिट संख्या तोकेर हामीले बैठकमा पठाएका छौं। कति सिट लिने, कुन प्रदेश र कुन कलस्टर लिने उहाँहरूले निर्णय गर्नुहुन्छ,’ पार्टीको बैठकपछि उनले भने।

    उनले एमालेले सत्तापक्षसँग सिट माग्नु उचित नभएको बताए। ‘प्रतिपक्षीले सत्तापक्षसँग सिट माग्नु उचित भएन। प्रतिपक्षी प्रतिपक्षी भएर बस्नुपर्छ। सत्ता पक्षसँग माग्नु हुँदैन,’ उनले भने। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग ६ सिट मागेको उपमहासचिव खतिवडाको भनाइ छ।

    एमालेले भने १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ। शुक्रबार बसेको एमालेको सचिवालय बैठकले सातवटै प्रदेशको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय भएको महासचिव शंकर पोखरेलले बताएका थिए।

    निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन तोकेको छ। निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ताको समय तोकेको छ। बाँकी १ सिट राष्ट्रिपतिले मनोनीत गर्नेछन्।

    ताजा समाचार