धनबहादुर तामाङ पाख्रिनद्वारा तामाङ भाषामा अनुवादित पुस्तक ‘धम्मपद’ पुस्तक लोकार्पण


  • admin
  •    
  • October 8, 2023

  • नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङ पाख्रिनद्वारा तामाङ भाषामा अनुवादित पुस्तक ‘धम्मपद’ सार्वजनिक गरिएको छ । जेचुन साङ्गे खण्डो रिन्पोछे (जुनामाया थिङ तामाङ) ले उक्त पुस्तक सार्वजनिक गरेकी हुन् ।

    तामाङ पत्रकार सङ्घद्वारा आयोजित विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै खण्डोमा रिन्पोछेले भगवान् बुद्धका महत्त्वपूर्ण वचनहरू समेटेको बौद्ध ग्रन्थ धम्मपदलाई तामाङ भाषामा अनुवाद गरेर पुण्य कार्य गरेको बताउँदै अनुवादक तामाङको प्रशंसा गरिन् । ‘बौद्ध ग्रन्थहरूमध्येको एक महत्त्वपूर्ण धम्मपद सम्भवतः सबैभन्दा धेरै भाषामा अनुवादित ग्रन्थमा पर्छ । यसलाई तामाङ भाषामा अनुवाद गरेर तामाङ भाषीको पहुँचमा पुर्‍याउनुजस्तो पुण्य कार्य केही होइन,’ उनले भनिन् । तामाङ भाषामा अनुवादित यो कृतिले बौद्ध साहित्यमा इँटा थप्ने काम गरेको उनले बताइन् ।

    अनुवादक तामाङले अन्य भाषामा अनुवाद भइसकेको धम्मपद तामाङ भाषामा नभएकोले त्यसलाई पूर्ति गर्ने प्रयास आफूले गरेको बताए । तामाङ भाषामा विभिन्न टोन (ध्वनि) रहेको उल्लेख गर्दै उनले त्यसको संरक्षणका लागि पनि पुस्तकमा टोनलाई आधार बनाएर प्रयोग गरेको उनले जानकारी दिए ।

    तामाङ पत्रकार सङ्घका अध्यक्ष सुवास योञ्जनको अध्यक्षतामा भएको विमोचन समारोहमा लेखक रवीन्द्र तामाङले स्वागत मन्तव्य राखेका थिए । विमोचित धम्मपद पुस्तकको चर्चा समीक्षकद्वय खोजराज गोले र कृष्णकुमार लामा योञ्जनले गरेका थिए । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले अनुवादक तामाङको व्यक्तित्वबारे चर्चा गरे । समारोहमा खेन्पो पाल्साङ नोर्बु बोम्जन लामाले पनि शुभकामना मन्तव्य राखेका थिए ।

    विमोचित धम्मपद पुस्तक आवरणसहित १७४ पृष्ठको रहेको छ । पुस्तकमा २६ वग्गो, ४२३ श्लोक समेटिएका छन् । धम्मपद भिक्षु अमृतानन्दले सन् २००८ मा पाली र नेपाली भाषामा प्रकाशन गरेका थिए । ती दुई भाषालाई यथावत् राखी तामाङले धम्मपद बग्गो र श्लोकलाई अनुवादक तामाङले ध्वनिको आधारमा तामाङ भाषामा अनुवाद गरेर देवनागरी लिपिमा प्रकाशन गरेका हुन् । पुस्तकको प्रकाशक पवित्रा तामाङ ङेसुर रहेकी छन् । काभ्रेपलान्चोक बासडोल निवासी अनुवादक तामाङ २०७४ असारमा सरकारी सेवाबाट अवकाश भएका हुन् ।

    ताजा समाचार