तामाङ समुदायले मनाउने तेमाल जात्रा सम्पन्न


  • admin
  •    
  • April 7, 2023

  • तामाङ समुदायले प्रत्येक वर्ष चैत्र शुक्लचतुर्दशीका दिन बेलुकी दिवङ्गत आत्माको शान्तिको कामना गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् । लामा गुरुहरुद्वारा विशेष पूजापाठ (ङोवा मोन्लम) समेत गरी मनाउने गरिन्छ ।

    प्राचीनकालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने भएकाले तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका मानिस आउने गर्छन् । मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकाका तामाङ समुदायको जात्रामा भीड लाग्ने गर्छ ।

    चैत्र शुक्ल चतुर्दशीको बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्छन् । स्नानपछि स्वयम्भू चैत्यमा पुगी पूजापाठ गरेपछि जात्रा समाप्त हुने । तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा रहेका तेमाल जात्राको हुलाक टिकट प्रकाशन गरिनुका साथै नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रोमा उल्लेख गरेर राष्ट्रिय मान्यता दिइएको छ । बौद्ध किम्बदन्ती अनुसार सत्ययुगमा विपश्वी बुद्धले नागार्जुन डाँडामा साधना गरी काठमाडौँ उपत्यकामा बनेको दहमा कमलको बीज रोप्नुभयो । विपश्वी बुद्धले रोप्नुभएका कमलको फूलमै स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको बौद्ध दर्शन शास्त्रीय मत छ ।

    विपश्वी बुद्धले कमलको फूल रोप्नुभएको सम्झनामा त्यसैबेलादेखि जात्रा शुरु भएको जात्रा व्यवस्थापन समितिको संयोजक समेत रहनुभएका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो । त्यसबेला जात्राको नाम तेमाल नामकरण भएको थिएन ।

    विसं १८१९ मा तेमालका अन्तिम राजा रिञ्जीन दोर्जे बलले राजकीय मान्यता दिएपछि तेमाल नामकरण भएको भनाइ छ । राजा रिञ्जीन दोर्जे बलले जात्रा सम्पन्न गराउन तेमालबाट प्रजालाई पठाउने गर्नुभएको थियो । अर्को किम्बदन्ती अनुसार राजा रिञ्जी दोर्जे बलले बौद्धको जीर्णोद्वार सकेपछि तेमाल जात्रा मनाउने परम्परा बसालेको भनाइ छ । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दियो बालेमा दिवङ्गत पितृ षड्गतिमा नपर्ने धार्मिक विश्वास छ । अर्को जन्ममा सुखवती भुवनमा जन्म लिन्छन् भन्ने विश्वासले लाखौँ भक्तजन बौद्ध क्षेत्रमा आउने गर्छन् ।

    जात्रा सम्पन्न गर्न बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा यस क्षेत्रका सबै सङ्घ संस्था र जनप्रतिनिधिको सहभागितामा बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति गठन गरिएको छ । यो वर्ष चैत्र २२ गते बेलुकी बत्ती बाल्ने र २३ गते बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा विशेष पूजापाठ गरिने जनाइएको छ । यसवर्ष जात्राको तयारीस्वरुप बौद्ध चैत्यमा रङरोगन पनि गरिएको छ । रङरोगनले बौद्ध क्षेत्रको आकर्षण बढेको छ । सन् १९७९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को ले विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि यहाँ विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

    ताजा समाचार