सिट बाँडफाँटमा सकस : सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै


  • admin
  •    
  • August 18, 2022

  • सिट बाँडफाँटमा सकस : सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

    काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे शीर्ष नेताको बैठक बस्न लागेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए।

    सिट बाँडफाँटको मोडालिटी बनाउने जिम्मेवारी पाएको कार्यदलले खाका तयार गर्न नसकेपछि शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो । प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिटका लागि कार्यदलले साउन मसान्तसम्म सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिने भने तापनि गठबन्धनका शीर्ष नेताबीच गृहकार्य नपुगेको कारण देखाउँदै समय लम्ब्याएको छ।

    साउन २० गते सत्तारूढ गठबन्धन दलहरूले सिट बाँडफाँटका लागि खाका तयार गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो। साउन २३ गते कार्यदललाई व्यवस्थित बनाउने भन्दै कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजक तोकेका थिए। यद्यपि, १३ दिनसम्म पनि कार्यदलले कुनै किसिमको खाका तयार पार्न सकेको छैन।

    बैठकमा कार्यदलका सदस्यहरूबीच विभिन्न मोडालिटीमाथि छलफल यथावत छ। छलफललाई अन्तिम रूप दिन कार्यदलका संयोजक सिटौलाले पुनः शीर्ष नेताहरूसँग छलफल गर्ने भएका हुन्। निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपनि सिट बाँडफाँट मिलाउन गठबन्धनमा आवद्ध दललाई सकस परिरहेको छ ।

    कार्यदलमा कांग्रेसबाट सिटौलासहित सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

    जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराई र नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका वामदेव गौतम पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्न सहमत भएका छन्। डा. भट्टराई र गौतम थपिएपछि आफ्नो शक्ति अझ ठूलो रहेको भन्दै गठबन्धनमा बार्गेनिङ गर्न प्रचण्डलाई सहयोग पुगेको नेताहरू बताउँछन्।

    सत्तागठबन्धनमा दलहरू थपिँदै जाँदा कांग्रेसका नेताहरू खुसी हुनुपर्नेमा अधिकांश चिन्तित देखिन्छन्। जति नेता वा पार्टी थपिँदै जान्छन्, कांग्रेसको भाग घट्दै जाने हो कि भन्ने चिन्ता उनीहरूमा छ। यसबाट डा. शेखर कोइराला पक्ष अझ बढी सशंकित छ। त्यही कारण कोइराला पक्षले छुट्टै भेला गरी ४० प्रतिशत सिट आफ्नो पक्षलाई दिन देउवा पक्षमाथि दबाब बढाएको छ।

    त्यसैकारण कोइराला पक्षधर नेताहरू गठबन्धनको विपक्षमा छन्। तर, कांग्रेसले नगरे अरू पार्टी गठबन्धन गर्ने र त्यसो हुँदा कांग्रेसको पक्षमा चुनाव परिणाम नआउने बुझाईमा संस्थापन देउवा पक्ष छ।

    ताजा समाचार