गठबन्धनबाट पाउने सिटको टुंगो छैन, धमाधम उम्मेदवार सिफारिस गर्दैछ एकीकृत समाजवादी


  • admin
  •    
  • August 29, 2022

  • मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धनका दलले तालमेल गर्ने निर्णय गरेका छन्। तालमेलका लागि कसले कति सिटमा बाँडफाँट गर्ने भन्ने अहिले रस्साकस्सी चलिरहेको छ।

    प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र रहेका छन् तर सत्तारूढ गठबन्धनका दलले दाबी गरेका सबै सिट जोड्दा २३० भन्दा बढी पुग्छ। दलहरूले एक-अर्कासँग गर्ने बार्गेनिङ केही दिन लम्बिने देखिन्छ।

    सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने टुंग्याउन सकस भइरहेका बेला सत्तारूढ घटक नेकपा (एकीकृत समाजवादी) ले देशभरिबाट धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ।

    भदौ ९ गते काठमाडौं क्षेत्र नं ५ बाट एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा सुदेश पराजुली सिफारिस भए।

    उनी एकीकृत समाजवादीको भ्रातृसंस्था अनेरास्ववियुका अध्यक्ष हुन्। उनीसँगै रामप्रसाद पोखरेल पनि सोही क्षेत्रबाट सिफारिस भएका छन्।

    सोही पार्टीका केन्द्रीय सदस्य मोहन गौतम अर्घाखाँचीबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका प्रमुख स्वकिय सचिवसमेत हुन्।

    उता इलाम क्षेत्र नं १ बाट झलनाथ खनाल र क्षेत्र नं २ बाट एकीकृत समाजवादीनिकट युवासंघका उपमहासचिव सञ्जिव राई उम्मेदवार सिफारिस भएका छन्।

    बाजुराबाट युवासंघका अध्यक्ष नरेश शाही उम्मेदवार सिफारिस भएका छन्।

    एकीकृत समाजवादीले जिल्ला-जिल्लाबाट प्रदेश सभाका लागि समेत उम्मेदवार सिफारिस गरिरहेको छ। निर्वाचन क्षेत्र भागबण्डाका लागि सत्ता गठबन्धनमा रहेका दलहरूबीच छलफल चलिरहेका बेला पहिलो पटक संसदीय चुनावको सामना गर्न लागेको एकीकृत समाजवादी  उम्मेदवार सिफारिसमा अगाडि  देखिएको छ।

    एकीकृत समाजवादीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले देशभरबाट उम्मेदवारको सिफारिस मागिएको र बुधबारसम्म ७७ जिल्लाबाटै सम्भावित उम्मेदवारको नाम आइसक्ने बताए।

    सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र भागबण्डाको लागि छलफल चलिरहेको बेला उम्मेदवार सिफारिस गर्नु हतार भएन भन्ने प्रश्नमा खतिवडाले मानसिक रूपमा कार्यकर्तालाई तयार पारिएको बताए।

    ‘हामीले त तलबाट सबै हिसाबले काम गर्नुपर्‍यो भनेर हो। समयमा सबै नाम लिएर मानसिक रूपमा तयार पार्नलाई हो,’ उनले भने,‘गठबन्धनका लागि ढिलो गर्दै गएर कुरा मिलेन भने हामी पनि तयार भएर बस्नपर्‍यो नि। सिफारिस भएर आएका उम्मेदवारहरू पछि हट्न र उठ्न पनि तयार हुन्छन्।’

    सत्ता गठबन्धनमा एकीकृत समाजवादीले कम्तीमा २४ क्षेत्र दाबी गरेको समेत खतिवडाले जानकारी दिए। अहिले जसका जति सांसद छन्, त्यति क्षेत्र स्वत: पाउने र बाँकी क्षेत्रहरू बाँड्नु पर्ने आफूहरूको प्रस्ताव रहेको उनले बताए।

    आफूहरूको प्रस्तावमा तलमाथि भए पनि त्यसका लागि तयार भएको उनले बताए।

    अहिले एकीकृत समाजवादीमा १२ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन्। उनीहरूमध्ये धेरैको निर्वाचन क्षेत्रमा गत वैशाख ३० मा भएको स्थानीय तह चुनावमा एकीकृत समाजवादीले उल्लेख्य मत ल्याउन सकेको छैन।

    प्रत्यक्षमा जितेका एकीकृत समाजवादीका सांसद भएका केही क्षेत्रमा अरू दलका पनि प्रभावशाली केन्द्रीय नेताहरू भएकाले सिट बाँडफाँट पेचिलो बन्दै गएको छ।

    एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले गठबन्धनबीच तालमेल नभएको अवस्थामा पार्टीले आफ्नो उम्मेदवार घोषणा गरेर जानुपर्ने उनले बताए। पार्टी एक्लै चुनाव लड्न सक्ने कुरामा मानसिक रूपमा तयार बन्ने र त्यसका लागि कार्यकर्तालाई समेत तयार पार्नका लागि उम्मेदवार सिफारिस भइरहेको उनले बताए।

    ताजा समाचार