अन्तर्राष्ट्रिय तामाङ परिषद्ले संसारभर सांस्कृतिक संयन्त्र विस्तार गर्ने


  • admin
  •    
  • September 5, 2022

  • तामाङ संघ, संस्थाहरुको एकमात्र छाता संगठन अन्तर्राष्ट्रिय तामाङ परिषद्ले सबै देशमा ताम्बा, लामा र बोन्बो सम्मिलित सांस्कृतिक संयन्त्र निर्माण गरी तामाङ सांस्कृतिक जागरण अभियान सञ्चालन गर्ने भएको छ । परिषद्को आज नेपालको पूर्वी जिल्ला झापाको काकडभिट्टामा बसेको चौथो सचिवालय बैठकले सो निर्णय गरेको हो ।

    तामाङ संस्कृतिमाथि दिनप्रतिदिन बाह्य संस्कृतिको प्रभावमा परेर विकृति भित्रिदै गएको र तामाङको परम्परागत संस्थाहरुमाथि प्रहार बढेको भन्दै सोलाई रोक्न परिषद्ले सांस्कृतिक संयन्त्र निर्माण गर्न लागेको परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङले बताए । यस्तो संयन्त्र तामाङ संस्था क्रियाशील रहेको सबै मुलुकमा गठन गरी यसको आवश्यकता र औचित्यको बारेमा सांस्कृतिक जागरण अभियान सञ्चालन गर्ने वरिष्ठ उपाध्यक्ष लामाले बताए । उनले भने, यसको अवधारणा पत्र लेख्नको लागि परिषद्को महासचिव तथा नेपाल तामाङ घेदुङको सङ्घीय अध्यक्ष मोहन गोले तामाङलाई जिम्मेवारी दिइएको छ ।

    अवधारणा पत्र तयार भइसकेपछि हामी नेपालबाटै यो अभियानको सुरुवात गर्नेछौ । सांस्कृतिक संयन्त्रको निर्माणले पछिल्ला दिनमा विश्वव्यापी रुपमा तामाङ जीवनमाथि बढ्दै गएको धार्मिक, सांस्कृतिक अतिक्रमणलाई न्यूनिकरण गर्नुका साथै हाम्रो परम्परागत संस्थाहरु लामा, ताम्बा र बोन्बोको समेत संरक्षण हुने अपेक्षा गरिएको छ ।

    तामाङ जीवनमा तीनवटै संस्थाको प्रयोगको उत्तिकै आवश्यकता पर्ने हुँदा यो अभियान चाल्नु परेको परिषद्ले जनाएको छ । बैठकले परिषद्को विधानको कारण संगठन सञ्चालनमा देखा परेको प्राविधिक समस्या समाधान गर्न समेत छलफल अघि बढाउने निर्णय गरेको छ । यसलाई सबै देशको तामाङ संघ, संस्थासँग छलफल गरी पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन अगावै विधान संशोधन गरी परिषद्लाई अझ बलियो बनाउने तयारी गरेको हो । खासगरी विधानमा स्थायी सदस्य संस्था र गैर आवसीय सदस्य संस्थाबिचमा दोहोरो आबद्धता हुँदा सुरुदेखि नै समस्या बोक्दै आएको बैठकको निष्कर्ष रहेको छ ।

    परिषद्को सदस्य संस्था नेपाल तामाङ घेदुङले ग्रेन गे दिम खरिदको लागि सञ्चालन गरेको आर्थिक संकलन अभियानलाई समेत परिषद्ले गम्भीरताका साथ लिएको छ । बैठकले घेदुङको यो अभियान सफल बनाउन संसारका सबै तामाङ संघ/संस्थालाई आर्थिक सहयोग जुटाउन आह्वान गर्ने निर्णय गरेको छ । यसैगरी लुम्बिनीमा अन्तर्राष्ट्रिय तामाङ गुम्बा निर्माणको लागि प्राप्त भएको जग्गामा संरचना निर्माणको कार्य अघि बढ्न नसकेकोमा परिषद्ले गम्भीरताका साथ छलफल गरेको छ । सो को लागि नेपालमा संघ र प्रदेशको निर्वाचन सम्पन्न भएपछि प्रक्रिया अघि बढाउन अन्तर्राष्ट्रिय तामाङ गुम्बा निर्माण समितिका संयोजक महेन्द्र जंग तामाङलाई आग्रह गरेको छ ।

    कोभिड महामारीको कारण भौतिक उपस्थितिमा लामो समय बैठक बस्न नसकेको परिस्थितिमा आज बल्ल परिषद्को बैठक बसेको हो । अब परिषद्को ४ वर्षे कार्यकालमा करिब १०० दिन मात्र बाँकी छ । यसबिचमा सांस्कृतिक संयन्त्र निर्माण, विधानत देखिएका समस्या समाधानको लागि पहलकदमी र अन्तर्राष्ट्रिय वार्षिक भेला सम्पन्न गरी आगामी २०२३ अप्रिलभित्रमा सम्मेलन सक्ने परिषद्ले तयारी गरेको छ ।

    ताजा समाचार