टुँडिखेलमा ल्होछार महोत्सव मनाउने तयारी पूरा


  • admin
  •    
  • January 20, 2023

  • तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ लगायत अन्य विभिन्न संघसंस्थाहरुको सहभागितामा ३ दिने २८५९ औँ सोनाम ल्होछार (तावार ल्हो) महोत्सव टुँडिखेलमा मनाउने तयारी पूरा भएको छ ।

    बिहीवार तामाङ घेदुङको सभा हलमा पत्रकार सम्मेलन गर्दै ल्होछार मूल समारोह समिति गठन गरी टुँडिखेलमा माघ ६, ७ र ८ गते मनाउने तयारी पूरा भएको हो।

    तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्वा, बोन्वो तथा लामा) गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू ( घोडचढी, दोहोरी, डान्स, डम्फु सेलो, माने तथा म्हेन्दोमाया) साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित तथा ख्याति प्राप्त अतिथि कलाकारहरूको प्रस्तुति रहने घेदुङका सहअध्यक्ष कुमार घिसिङले बताए ।

    यसै गरी महोत्सवमा तामाङ समुदायको विशेष खानाको परिकारहरू, तामाङ भेषभूषाहरू, पुस्तक, गीतिक्यासेट तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा विक्री तथा प्रदर्शनी गरिने सहअध्यक्ष घिसिङले जानकारी दिए ।

    यसै क्रममा तामाङ र गैर तामाङ समेत लाखौँ दर्शकहरूले कार्यक्रमको प्रत्यक्ष र विभिन्न टेलिभिजन, रेडियो, अनलाइनको माध्यमबाट अवलोकन गर्नुका साथै भरपुर मनोरञ्जन लिने अपेक्षा आयोजकबाट गरिएको छ ।

    २०७६ सालदेखि २०७८ सालसम्म कोभिड – १९ बाट सिर्जित लकडाउनका कारण यो पर्वलाई भव्यताका साथ मनाउन नपाएको हुँदा यस वर्ष संसारभरका तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूको विशेष अनुरोधमा विशेष खालको नै तयारी गरिएको छ ।

    महोत्सव सफल पार्न सांस्कृतिक उपसमिति, र्‍याली तथा झाँकी उपसमिति, प्रचारप्रसार उपसमिति, सम्मान तथा पुरस्कार छनौट समिति, मञ्च सजावट उपसमिति लगायत विभिन्न समितिहरू गठन भई कार्य थालनी गरेको आयोजकले जनाए ।

    घेदुङ लगायत अन्य विभिन्न संघसंस्थाहरुको सहभागितामा २०५१/५२ सालदेखि नै सोनाम ल्होछार पर्वलाई काठमाडौँको टुँडिखेलमा तीन दिवसीय विशेष तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरी मनाउँदै आइरहेको छ ।

    ताजा समाचार