ल्हो परम्परा प्रकृति विज्ञान हो


  • admin
  •    
  • January 20, 2023

  • मोहन गोले तामाङ

    ल्हो परम्परा तामाङ संस्कृतिको एउटा अभिन्न अङ्ग हो । यो अन्धविश्वास र रुढीवाढी मान्यतामा चल्ने नभई प्राकृतिक तत्वहरुको संयोग, वियोग र अन्तरसम्बन्धको आधारमा सूचना दिने नियम सङ्गत विज्ञान पनि हो । यस वर्ष सोनाम ल्होछार–२८५९ (योअी/तावार ल्हो) स्त्री वर्ष–छ्युअी खाम परेको छ । छ्युअी भनेको पानी हो । कुन वर्ष कुन ल्हो पर्छ ? भन्ने विषय प्रायलाई जानकारी भएपनि पुरुष–स्त्री वर्ष र खाम (तत्व) छुट्टिने आधारको बारेमा धेरैले जानकारी नराखेको पाइयो । खाम (तत्व) सम्बन्धी जानकारी नराख्नुले ल्हो परम्पराबारे अल्पज्ञानलाई संकेत गर्दछ ।

    ल्हो १२ वटा हुन्छन् । जसलाई गन्ती गर्दा जीवा, लाङ, ताक्, योअी, डुक, डुल, ता, ल्हुक, टे, ज्या, खि, फाक् भनिन्छ । १२ ल्होमध्ये प्रत्येक वर्ष एकएक वटा जनावरले शासन गर्छ भने प्रत्येक महिना र प्रत्येक दिन पनि २, २ घण्टाको दरले राती ११ बजेदेखि प्रत्येक जनावरले शासन गर्ने विश्वास छ । १२ ल्होमध्ये विजोर वर्षको ल्हो पुरुष वर्ष हुन्छ भने जोर वर्षको ल्हो स्त्री वर्ष हुन्छ । यस अनुसार यसवर्ष नं. ४ अर्थात् जोर वर्षमा परेको योअी/तावार ल्हो स्त्री वर्ष हुन गएको हो । पाँच खाम (तत्व) दुई दुई वर्षमा मात्र फेरिन्छ । गत वर्षको ताक् ल्हो पनि छ्युअी खाम थियो र यस वर्षको योअी ल्हो पनि छ्युअी खाम नै परेको छ । अर्को वर्षदेखि यसैगरी क्रमश दुईदुई वर्ष सिङ (काठ), मे (अग्नी), सा (माटो), फाई (फलाम) र छ्युअी (पानी) तत्वले शासन गर्दछ । यसर्थ, हामीले सोनाम ल्होछारबारे जानकारी राख्दा त्यसको साल, जनावर (वर्ग), पुरुष–स्त्री र खामको बारेमा सामान्य जानकारी लिनैपर्छ । यसले तामाङ समाज र व्यक्तिको जीवनलाई समेत प्रकृतिसँग तादत्म्यता मिलाउँदै अघि बढ्न सहयोग पु¥याउँदछ । तामाङ समाजको विश्वास अनुसार ज्योतिषी र लामा, ताम्बाहरुले समेत मानिसको भविष्यवाणी र जीवनका विवाह, मृत्यु लगायत मुख्य कर्मकाण्डमा ल्हो, खाम हेरेर मात्रै निर्णय लिन्छन् । यो भनेको प्रकृति विज्ञानलाई मिलान गर्न खोजिएको हो ।

    ल्हो परम्परामा पञ्च तत्व (खाम) लाई मुख्य आधार मानिन्छ । पञ्च तत्वहरु ः (१) अग्नी, (२) माटो, (३) धातु, (४) जल र (५) काठ हुन् । पञ्चतत्व प्लस र माइनस (निर्माण र ध्वंश) को नियमअनुसार सञ्चालित हुन्छ । जस्तो आगो तत्वले माटो तत्वको निर्माण गर्दछ । जस्तो कुनै वस्तु डडाइयो भने त्यो खरानी बन्छ । खरानी माटो बन्छ । अग्नीले फलाम (खनिज) तत्वलाई ध्वंश गर्दछ भन्नुको अर्थ फलामलाई यसले पगालीदिन्छ । त्यस्तै माटो तत्वले खनिज (फलाम) तत्वको निर्माण गर्छ । माटोले जल तत्वलाई धमिल्याउने अर्थात् यसलाई विनाश गर्छ । धातु तत्वले जल तत्वको निर्माण गर्छ । फलाम पग्लिएर पानी बन्छ । त्यस्तै धातुले काठ तत्वको विनाश गर्छ । काठलाई काट्ने काम धातुद्वारा नै हुन्छ । काठ तत्वले आगो तत्वको निर्माण गर्छ । दुईवटा काठको घष्रण भयो भने त्यहाँ आगो उत्पन्न हुन्छ । काठले फेरि माटो तत्वको विनाश गर्छ । जल तत्वले काठ तत्वको निर्माण गर्छ । हरेक वनस्पति पानीकै सहयोगमा ठूलो हुन्छ । जलले फेरि अग्नी तत्वको विनाश गर्छ । आगोलाई निभाउने काम पानीले नै गर्दछ ।

    पञ्चत्वको निर्माण र ध्वंशको उल्लेखित नियमलाई हेर्दा यो माक्र्सको द्वन्द्वात्मक भौतिकवादी दर्शन अनुसार विपरीतबिचको एकता अनि संघर्षको नियम र निषेधको निषेध नियमसँग मेल खान्छ । आजभन्दा तीन हजार वर्ष पुरानो नियमलाई माक्र्सले दुईसय वर्षअघि द्वन्द्ववादी ढंगबाट सरल नियममा ढालेर व्याख्या गरिदिएपछि आज हामी सबैको आँखा खुले जस्तो भयो । चिनियाँ परम्परा र विश्वास अनुसार यो प्लस र माइनसको सुचक हो । उज्यालो र अँध्यारोको संकेत राखिएको यसलाई यिङ र याङ भनिन्छ । घेदुङको लोगो दोर्जेको बीच भागमा रहेको कालोभित्र सेतो टीका र सेतो घेराभित्रको कालो टीकाको अर्थ यही नै हो । हरेक उज्यालोमा अँध्यारो हुनु र हरेक अँध्यारो घेराभित्र सेतो टीका राखिनुले प्लस र माइनस अर्थात् संसारको इको सिस्टमको अनिवार्यतालाई पुष्टि गरेको छ । जसरी अन्धकारबिना प्रकाशको महत्व हुँदैन त्यस्तै मृत्युबिना जीवनको अर्थ पनि हुँदैन । जन्मेको जति सबै मान्छे अनन्त कालसम्म बाँच्ने भए जीवनको महत्व हुँदैनथ्यो । रात नपर्ने भए उज्याला दिनहरु हाम्रा लागि महत्वको दिन हुँदैनथे ।

    मानव जीवनको महत्वपूर्ण पञ्च अंगसँग पनि पञ्च तत्वको सम्बन्ध हुन्छ । पञ्च तत्वको संयोजनबाटै मानव जीवनको निर्माण भएको यो परम्पराको विश्वास छ । जुन बेलासम्म यी तत्वहरुको निरन्तर र अविछिन्न संयोजन हाम्रो शरीरमा रहन्छ त्यो समयसम्म शरीरमा कुनै गडबडी आउँदैन तर जब यसमध्ये कुनै तत्वको प्रवाहमा कमी आउनासाथ शरीरमा गडबडी देखा पर्न थाल्छ । वास्तवमा यो तत्वहरुले छोडेपछि जीवनको पनि समाप्ती हुन्छ । त्यसैले ल्होको पाँच प्रकृति (खाम) ले मानिसको स्वास्थ्य जीवनमा ठूलो महत्व राख्छ । ल्होको पाँच खाम आगो, पानी, माटो, काठ, धातुले हाम्रो शरीरको महत्वपूर्ण पञ्च तत्वहरु फोक्सो, मुटु, मृर्गौला, आन्द्रा र कलेजोलाई नियमित गर्नमा सहयोग पु¥याउछ । यसको अध्ययनले चिकित्सकीय विज्ञानलाई समेत सहयोग गरेको छ । पृथ्वीमा पानी र जमीनको भाग जति छ मानव जीवनमा पनि रगत र मासुको भाग उस्तै छ ।

    पाँच खाममध्ये फोक्सोसँग धातु, आगोसँग मुटु, पानीसँग मृर्गौला, माटोसँग पाचनग्रन्थी र काठसँग कलेजोको सम्बन्ध हुन्छ । जव शरीरमा माटो (आन्द्रा) प्रभावित हुन्छ, धातु (फोक्सो) कमजोर हुन पुग्छ । पानी (मृर्गौला) ले काम गरेन भने काठ (कलेजो) लाई असर पु¥याउँछ । त्यसैले जसरी खामहरुसँगको सन्तुलन सृष्टि सञ्चालनको लागि आवश्यक हुन्छ, त्यसबाट बनेको मानव शरीर सञ्चालनको लागि पनि पाँच तत्वको उत्तिकै आवश्यकता हुन्छ । स्वस्थ जीवन जीउन चाहनेले खाम तत्व बुझेर ती तत्वहरुको शरीरमा कमी हुनु दिनु हुँदैन । अग्नी तत्वको सम्बन्ध मुटुसँग हुन्छ । अग्नी तत्वको कमी भएमा हाम्रो मुटुमाथि कुनै न कुनै प्रकारको समस्या देखापर्न थाल्छ । त्यस्तै पानी तत्वको मृर्गौलासँग सम्बन्ध हुन्छ । शरीरमा पानीको कमी भयो भने त्यसले मृर्गौलालाई असर पु¥याउँछ । त्यस्तै माटोको सम्बन्ध आन्द्रासँग हुन्छ । शरीरमा माटो तत्वको कमी भएमा हाम्रो पाचनक्रियाका अंगहरुमा समस्या देखिन्छ । त्यसैगरी फलामको सम्बन्ध फोक्सोसँग हुन्छ । फलाम तत्वको कमी भएमा फोक्सो अर्थात् श्वासप्रश्वासमा समस्या आउन थाल्छ । त्यसैले तामाङ समाजमा बच्चालाई फलाम तत्वको कमी नहोस् भन्नाको लागि फलामको जन्तर, सिक्री, कल्ली लगाइदिने पनि चलन छ । त्यसैगरी काठ तत्वको सम्बन्ध कलेजोसँग हुन्छ । यसर्थ, ल्हो परम्परा तामाङ समाज र तामाङ जीवनको अपरिहार्य प्रकृति विज्ञान हो ।

    ताजा समाचार