गोले तामाङ वंश उत्थान समाजको अध्यक्षमा मिनप्रसाद गोले !


  • admin
  •    
  • May 19, 2023

  • काठमाडौं । यही जेठ ४ गते गोले तामाङ वंश उत्थान समाजको सातौँ राष्ट्रिय भेला तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
    वार्षिक रूपमा जेठ ४ गते राष्ट्रिय भेला गर्दै आएको समाजले मिनप्रसाद गोले (सुनसरी)को अध्यक्षतामा ९१ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसअनुसार सह-अध्यक्षमा हर्कबहादुर गोले (सिन्धुपाल्चोक), उपाध्यक्ष महिलाबाट सीता गोले (काठमाडौं), सुजेन्द्र गोले (सुनसरी), शुभरत्न गोले (मकवानपुर), मीन गोले (नवलपरासी) र राजु गोले (बाँके) रहेका छन् । महासचिवमा धनबहादुर गोले (काठमाडौं), उप-महासचिवमा शुभराज गोले (मकवानपुर) र पेम्बा गोले (काठमाडौं), सचिवमा रवीन्द्र गोले (नुवाकोट) र बाबुराम गोले (सिन्धुपाल्चोक) एवंरीतले कोषाध्यक्षमा किर्तिमाया गोले (सिन्धुपाल्चोक), सह-कोषाध्यक्षमा आकाश गोले (मकवानपुर) रहनुभएको छ । यस्तैगरी केन्द्रीय सदस्यहरूमा टेकबहादुर गोले (इलाम), वीरबहादुर गोले (पाँचथर) र रामबहादुर गोले (सर्लाही) समेत रहनुभएको छ ।
    बौद्ध, काठमाडौंमा आयोजित कार्यको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष जयप्रसाद गोलेले गर्नुभएको थियो । प्रमुखअतिथि पूर्वमन्त्री मणि लामा गोले रहनुभएको कार्यक्रममा पूर्वमन्त्री दावा गोले, प्रदेश- ३ की पूर्व सभासद् हिमाली गोले, नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोले साथै मेजर दलमान गोले लगायतका अतिथिहरू रहनुभएको थियो ।
    बोम्बो नारायण गोले र चञ्चकुमार तामाङद्वारा स’ङसेरकेम गरी उद्घाटन गरिएको कार्यक्रममा छ्योर्तेन टासी तामाङ गुम्बा नयाँबस्तीका लामा फुर्ब तामाङ र आले तामाङद्वारा टसीगेप पाठ गरिएको थियो । बोम्बो र लामाद्वारा स’ङसेरकेमत तथा टसीगेप पाठ गरिएपछि बल्ल प्रमुखअतिथि मणि लामा गोलेले म्हर्मे (दीप) प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
    कार्यक्रममा महासचिव धनबहादुर गोलेले प्रगति-प्रतिवेदन साथै कोषाध्यक्षको तर्फबाट शुभराज गोले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएपछि हाउसबाट सर्वसम्मतिमा पास गरिएको थियो ।
    प्रमुखअतिथि मणि लामा गोलेले शुभकामना मन्तव्य राख्नुहुँदै नेपालमा तामाङ राष्ट्रमाथि हिन्दूराज्यसत्ताले व्यापक दमन तथा विभेद गर्दै आएको भन्नुहुँदै लामो फेहरिस्त समेत राख्नुभयो । पूर्वमन्त्री दावा गोले तथा पूर्वसभासद् हिमाली गोलेले आफ्नो पुर्खाको इतिहास खोज्नुपर्ने साथै यसको लागि समाजले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो । नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोलेले आफू पूर्णतः पहिचानको पक्षमा लागिपरेको साथै ताम्सालिङको लागि गोले ह्रुइको सन्तानले नेतृत्व गर्नुपर्ने समय आएको बताउनुभयो ।
    शुभकामना मन्तव्यकै क्रममा बलेफी गाउँपालिको अध्यक्ष गङ्गाबहादुर गोलेले आउँदो राष्ट्रिय भेला सिन्धुपाल्चोकको धुसकोटमा गर्नुपर्ने र त्यसको लागि आफ्नो गाउँपालिकाको तर्फबाट आवश्यक व्यवस्थापनको लागि प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । गोलेले धुसकोटलाई पौराणिक तामाङ गाउँको रूपमा विकास गर्न लागिएको समेत बताउनुभएको छ । मोरङमा गोले सांस्कृतिक भवनको लागि पहल गर्नुपर्ने साथै त्यहाँ गोलेको लदिम वा लखङको लागि योजना बनाउने क्रम जारी रहेको लङ्कबहादुर गोलेले बताउनुभएको छ ।
    कार्यक्रममा पाँचपोखरी-थाङ्पाल, ५ को वडाध्यक्ष काले गोलेले समाजद्वारा अक्षय कोष खडा गरी गोले विद्यार्थीका लागि छात्र-छात्रावृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । त्यस्तैगरी सूर्यगढी लच्याङका वडाध्यक्ष रवीन्द्र गोलेले आफूहरूका भूमि खोसेर राज्यसत्ताले दास बनाउने क्रम जारी रहेको बनाउनुभएको छ । लच्याङमा गोले तामाङ राजा रहेको र पृथ्वीनारायण शाहले छलपूर्वक हत्या गरी यस क्षेत्रको भूमि तामाङबाट खोसेर भैरवी गुठीमा राखेका थिए । अहिले लोकतन्त्र र गणतन्त्रको कुरा गरिहेको बेलामा समेत यहाँका भूमिपुत्रहरूले आफ्नो जमीन फिर्ता पाएका छैनन् ।
    राष्ट्रिय भेला तथा नयाँ कार्यसमितिलाई अतिथिहरूले शुभकामना दिनुभएको कार्यक्रममा बैरागी च्यङ्बा गोले, अभिषेक वाइबा, सन्तोष गोले साथै प्रितम गोलेले साङ्गीतिक प्रस्तुतिहरू पस्कनुभएको थियो ।

    ताजा समाचार