कमरेड प्रचण्ड, ‘लुतो’ उतै फ्याँकेर आउनुहोला!


  • admin
  •    
  • August 18, 2022

  • आज कर्कट सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन। असारभर गरिने खेतीपातीका क्रममा हिलोबाट फैलिने छालाको रोगबाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो फाल्ने प्रचलन छ। संयोगले आजै  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमण सकाएर नेपाल फर्कँदै छन्। राजनीतिको खेतीपातीमा रमाउने यी नेताले लुतो उतै फालेर आउँछन् कि साथमै ल्याउँछन्, त्यो भने हेर्न बाँकी नै छ।

    लुतोको चर्चा किन पनि हो भने लामो समयदेखि नेपाली राजनीति उत्तर र दक्षिणको लुतोबाट ग्रस्त छ। उत्तरबाट आएका चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग आफ्नै निवासमा सोमबार भेट गरेका दाहालको शुक्रबारको  दक्षिणको  भ्रमणलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्। अझ त्यसमा पनि केही दिनअघि भारतकै नयाँ दिल्ली पुगेकी प्रधानमन्त्री पत्नी आरजु देउवा राणासँगको दिल्ली भेटवार्ताले थपेको शंका लंकाभन्दा पनि चर्को ठानिँदैछ।

    प्रचण्ड–आरजु भेटको तस्बिर सार्वजनिक भएपछि त एमालेका विष्णु रिजालले दिल्ली भेटघाटले २००७ सालको राणा र कांग्रेसको सत्ता बाँडफाँटको झल्को दिएकोसमेत पोस्ट्याउन भ्याए।

    ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ’, रिजालले लेखेका छन्– २०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको थियो।

    प्रचण्ड सचिवालय पनि जवाफी हमलामा उत्रन किन ढिला गथ्र्यो र? भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाबीच भएको भेटलाई गलत नियतका साथ प्रचार गरिएको भनेको छ।

    प्रचण्डको सचिवालयले शनिबार राति नै जारी गरेको विज्ञप्तिमा भनिएको छ– आज (शनिबार) बिहान भारतका लागि नेपाली राजदूतावासमा महामहिम शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहेकी कांग्रेस नेतृ डा.आरजु राणा देउवासँग कमरेड अध्यक्ष (प्रचण्ड) को ब्रेकफास्टकै क्रममा सामूहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। यस विषयलाई लिएर केही मान्छेले गलत नियतका साथ गरेको घटिया टिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ।

    आरजुले दिल्लीस्थित ‘राखी–भाइ’ (भाजपा विदेश विभागका प्रमुख विजय चौथाइवाला)लाई राखी बाँधिदिए मात्र पनि केही बिग्रदैनथ्यो। तर चिन्ता यो हो कि कतै उक्त राखीले सिंगो मुलुकलाई नै बन्धनमा त पार्दैन?

    यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भारतीय विदेशमन्त्री एस जय शंकरलाई भेटे। भारतीय विदेशमन्त्री जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको जनाएका छन्। आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्ध सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जयशंकरले ट्विटमार्फत जनाएका छन्।

    जयशंकर तिनै हुन् जसले नेपालको जननिर्वाचित संविधानसभाले बनाएको संविधान जारी हुने मिति घोषणापछि नेपाल आएर तत्कालीन राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, तत्कालीन एमाले अध्यक्ष केपी ओली र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेरै संविधान जारी नगर्न दबाब दिएका थिए। संविधान जारीपछि सबैसँग आक्रोशित भएका तिनै जयशंकर शनिबार कसरी प्रचण्डसँग खुसी भए? रहस्य समयक्रममा खुल्ला नै।

     

    माओवादीलाई पटक्कै मन नपराउने भारतले यसपटक प्रचण्डलाई निकै रुचाएको छ। दिल्लीको विमानस्थल, होटल र उनी पुग्ने कार्यक्रम सबैतिर उनलाई विदेश मन्त्रालयका अधिकारीले स्वागत गर्नुका साथै सरकारी उच्चपदस्थ अधिकारीहरूसँग पनि उनको एकपछि अर्को विशिष्ट भेटघाट मिलाइएको छ।

    भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटेका दाहालले शनिबार विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटे। भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका दाहालले आइतबार भाजपा अध्यक्ष नड्डासंग भेट गरे।

     नेपाली राजनीतिको आङ ‘लुतो’ले ध्वस्त पारेको छ। लुतो कन्याउँदा क्षणिक आनन्द त आउँछ तर अन्ततः यसले राजनीतिक दल र  मुलुक दुवैलाई सिध्याइदिन्छ। भारतबाट नेपाल फर्कँदै गरेका प्रचण्डसँग विन्ती छ, कमरेड प्लिज, लुतो उतै फ्याकेर आउनुहोला।

    भारतमा प्रचण्ड भेटघाटका धेरै तस्बिर सार्वजनिक भएका छन्। तर फेरि पनि उही शनिबारको प्रचण्ड–आरजु भेटको तस्बिर चासोको केन्द्रमा छ। यो तस्बिरले ‘राजनीतिक लेनदेन’ को शंकालाई पुष्टि गरेको दाबी वर्तमान गठबन्धन सरकारका विपक्षीको छ भने ‘वेटिङ प्राइमिनिस्टर’ को रोलमा र्‍याल चुहाइरहेकाहरूका लागि पनि गतिलै धक्का सावित भएको छ, त्यो पनि मुटुमै हान्ने।

    प्रचण्ड सचिवालयले सफाइमा भनेजस्तो उपचारका क्रममा दिल्लीमा रहेकी आरजुसँगको भेटघाट ‘सामान्य’ मात्र भइदिए त केही छैन। अनि आरजुले पनि दिल्लीमा रहेका ‘राखी–भाइ’ (भाजपा विदेश विभागका प्रमुख विजय चौथाइवाला) लाई राखी बाँधिदिए मात्र पनि केही बिग्रन्नथ्यो। तर चिन्ताचाहिँ यो हो कि कतै उक्त राखीले सिंगो मुलुकलाई नै बन्धनमा त पार्दैन?

    साउने संक्रान्तिका दिन नेपाल फर्कँदै गरेका प्रचण्डले सके उत्तरको लुतो दक्षिणमै फालेर आए हुन्थ्यो। नसके कम्तीमा पनि फर्कँदा आफूसँगै लुतोचाहिँ नल्याइदिए हुन्थ्यो। किनकि नेपाली राजनीतिको आङमा हरेक पटक ‘लुतो’ हावी हुने गरेको छ। यो कन्याउँदा क्षणिक आनन्द त आउँछ तर अन्ततः यसले दल र मुलुक दुवैलाई बिस्तारै सिध्याउनेमा शंका छैन। त्यसैले, प्रचण्ड कमरेड, प्लिज लुतो बोकेरचाहिँ नआउनु होला।

    ताजा समाचार