असोज १ देखि बागमती प्रदेशमा पनि अंकभार प्रणाली, ७० अंक ल्याए ट्रायल पास


  • admin
  •    
  • September 8, 2022

  •  नेपाल सरकारले निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले स्मार्ट लाइसेन्सको ट्रायलमा अंकभार प्रणाली लागू गर्ने भएको छ ।

    सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि दिनुपर्ने ट्रायल परीक्षालाई सहज गराउन संघीय सरकार, भौतिक तथा पूर्वाधार मन्त्रालयले २०७७ मा नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ जारी गरेको थियो ।

    यद्यपि यसको प्रभावकारी कार्यान्वयन भने हुन सकिरहेको थिएन । लामो पर्खाइ र धेरै छलफलपछि बागमती प्रदेशले यही असोज महिनादेखि निर्देशिका लागू गर्ने भएको छ ।

    बागमती प्रदेशमा असोज १ गतेदेखि लाइसेन्सका लागि लिइने ट्रायल परीक्षामा अंकभार प्रणाली लागू गर्ने निर्णय भएको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए ।

    प्रदेश सरकारले नयाँ नियम भएका कारण आवश्यक तयारी पूरा नहुँदा कार्यान्वयन गर्न नसकिएको भन्दै आएको थियो ।

    यसअघि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्देशिका लागू भइसकेकाे छ ।

    मधेस, बागमती र कर्णाली प्रदेशले भने यो व्यवस्था कार्यान्वनमा ल्याउन सकेका थिएनन् । यो नियम लागू भएसँगै अब ट्रायलमा कुल १०० अंकभारमध्ये ७० अंकसम्म ल्याउने चालकले स्मार्ट लाइसेन्स पाउन सक्नेछन् ।

    ताजा समाचार