ईश्वर तामाङ र सञ्चकुमारी ब्लोन तामाङलाई ‘तामाङ मिडिया अवार्ड’


  • admin
  •    
  • August 18, 2022

  • तामाङ अवार्ड

    काठमाडौँ — तामाङ पत्रकार संघले पत्रकारितामार्फत लामो समयदेखि समुदायको भाषा, धर्म तथा संस्कृतिलाई उठान गर्न महत्वपूर्ण योगदान पुर्‍याएका दुई जना पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’प्रदान गरेको छ ।

    २८ औं तामाङ प्रसारण दिवसका अवसरमा बुधबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित कार्यक्रममा तामाङ मातृभाषा पत्रकारितामा २४ वर्षदेखि सक्रिय पत्रकार ईश्वर तामाङ (उदयपुर) र १८ वर्षदेखि क्रियाशील सञ्चकुमारी ब्लोन तामाङ (ललितपुर) लाई अवार्ड प्रदान गरिएको हो । दुवै पत्रकारहरुलाई वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा र संघका अध्यक्ष सुवास योञ्जन तामाङले सम्मानपत्रसहित जनही ५ हजार रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरे ।

    रेडियो नेपालबाट पहिलो पटक रमिता तामाङ, अमृत योञ्जन तामाङ, ध्यानबहादुर तामाङलगायतले २०५१ भदौ १ गते अपराह्न ४ बजे ५ मिनेट तामाङ भाषामा समाचार उत्पादन गरी प्रसारण गरेका थिए । प्रत्येक वर्ष भदौ १ लाई तामाङ पत्रकार तथा सञ्चारकर्मीहरुले तामाङ प्रसारण दिवसका रुपमा मनाउँदै आएका छन् ।

    स्वास्थ्यमन्त्री लामाले प्रविधिको अधिकतम उपयोग गर्दै आजको समयसांपेक्ष कलमलाई अझै तीव्ररुपमा चलाउन सम्पूर्ण तामाङ पत्रकारहरु अग्रसर हुनुपर्ने धारणा राखे । ‘जातिको भाषा नै पहिचान हो ।भाषा मासिनु नै पहिचान सिध्याउनु हो,’ उनले भने, ‘आजको समयमा आदिवासी ज्ञान, भाषा, सीपलाई नयाँ पुस्तामा सार्न जरुरी देखिएको छ ।’ पत्रकारिताको माध्यममा आदिवासी विषय, मुद्दा आवाजलाई उठान हुनुपर्ने उनले जिकिर गरे ।

    भाषा आयोगका सदस्य एवं भाषाविद् अमृत योञ्जन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्‌का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका सहअध्यक्षकुमार तामाङ लगायतकाले समानुपातिक तामाङ पहिचान सहितको पत्रकारिताको अभ्यास नभएको गुनासो गरे । उनीहरुले आगामी दिनमा तामाङ भाषा, पहिचान, शिक्षा, नामको अधिकार, भााषिकरुपमै भएका विभेदकारी नीतिविरुद्ध कलम चलाउनुपर्ने सुझाव दिए ।

     

    ताजा समाचार