सातौँ तामाङ ज्ञान महोत्सव : इतिहासदेखि प्रविधिको विषयमा बहस र छलफल


  • admin
  •    
  • August 25, 2022

  • तामाङ पहिचान दिवसको अवसरमा ३ दिनसम्म चलेको सातौँ तामाङ ज्ञान महोत्सव सकिएको छ ।

    तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयद्वारा शनिवारदेखि बौद्धस्थित तामाङ भवनमा आयोजित सातौँ संस्करणको महोत्सवमा तामाङ भाषा, कला, संस्कृति, इतिहास, दर्शन र ज्ञानको विविध आयामहरूका विषयमा विचार र विमर्श भएका थिए ।

    तामाङ जातिले प्रत्येक वर्ष भदौ ६ गतेका दिनलाई तामाङ पहिचान दिवसका रूपमा मनाउँदै आएका छन् । यो ९० औँ तामाङ पहिचान दिवस हो ।

    तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेरको पालामा सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङको नेतृत्व टोलीले प्रधानमन्त्रीसमक्ष आफूहरूलाई ‘तामाङ’ भनियोस् भनी माग पत्र राखेका थिए । सोही मागलाई सम्बोधन गर्दै भीम शमशेरले विसं १९८९ भदौ ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेकाले सोही दिनलाई तामाङ पहिचान दिवसका रूपमा मानिएको हो ।

    उद्घाटनको अर्थात् पहिलो दिन डा लोकबहादुर लोप्चनले ‘मण्डन देउपुरमा प्रअहरुका विद्यालयमा शिक्षण माध्यमको दृष्टिकोण’, लेखक प्रताप बलले ‘भारतमा तामाङ भाषा’, धनबहादुर तामाङले ‘राष्ट्रिय परिवेशमा तामाङ भाषा : ज्ञान, इतिहास, संस्कृति र समाज विकासको संवाहक र विशेषता’ र डा बालकृष्ण बलले ‘प्रविधि र भाषाको अन्तरसम्बन्ध’ विषयमा आ–आफ्नो कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

    यसै गरी सोही दिनको दोस्रो सेसनमा ‘तामाङ लोक साहित्य : एउटा विमर्श’ विषयमा रविन्द्र ग्याबक, खोजराज गोले र निष्णु थिङले प्यानल छलफल गरेका थिए ।  । सो कार्यक्रमको सहजीकरण डा.लोक बहादुर लोप्चनले गरेका थिए  ।

    कार्यक्रमको दोस्रो दिन ‘सीमान्तमा तामाङ’ विषयक छलफलमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यपक कुमारी लामाले ‘तामाङको पेन्टिङमा अनुहारविहीनहरूका अनुहार: पहिचानको दाबी’‚ पत्रकार राजु स्याङ्तानले ‘तामाङ जातिको मधेस बसाइँ : सीमान्तदेखि सीमान्तसम्म’, सञ्जीला मोक्तानले ‘संरचनागत बहिष्करण, तामाङ र मृगौला बेचबिखन : ‘हिमाली’ गाउँको कथा’ र साङमो योञ्जनले ‘जातीय विभेदको तामाङहरूका जीवन भोगाइ’ बारेमा कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

    सोही दिनको अर्को सेसनमा भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी, अधिवक्ता शङ्कर लिम्बु लगायतले ‘सरकारी कामकाजमा तामाङ भाषा’ विषयमा विचार विमर्शसहित अन्तरक्रिया गरे ।

    त्यस्तै महोत्सवमा भाषाविद् अमृत योन्जन तामाङद्वारा मोडरेटर गरेको सेसन स्मृति वाचन सत्रमा पूर्व सचिव धनबहादुर तामाङ‚ खड्गजीत लामा लगायतले आफ्नो जीवनका भोगाइहरू सुनाएका थिए ।

    महोत्सवको समापनको दिन प्रताप बलले ‘भारतमा तामाङ गुम्बाहरू’‚ टेकराज स्याङतानले ‘सरकारी सेवामा तामाङ जातिको वर्तमान चित्र’‚ अमन मोक्तानले ‘एउटा सैद्धान्तिक खगोल शास्त्रीय अध्ययन’‚ निरा लोप्चनले ‘तामाङ संस्कृति र विकास बोर्डका गतिविधिहरू’‚ धनम तामाङ ‘दीसाङ थामा ज्युङमा’ मा छलफल गरेका थिए ।

    ‘तामाङ मुक्ति आन्दोलनको बाटो’ विषयक छलफलमा सञ्चारकर्मी जगत दोङ‚ ताम्सालिङ पार्टीका पूर्व अध्यक्ष परशुराम तामाङ, पूर्व राजदूत डा. गणेश योन्जन र अभियन्ता बुद्धछिरिङ मोक्तानले भाग लिएका थिए । सेसनको मोडरेटर  सञ्चारकर्मी कुमार ‘यात्रु’ थिङले गरेका थिए ।

    ताजा समाचार